जेठ ०२, २०८१, बुधबार
               

प्युठानमा कोरोना फैलँदै गएपछि पठनपाठन स्थगित

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको संक्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले विद्यार्थीको पुहँचको आधारमा वर्गीकरण गरी पठनपाठनको विकल्पहरु प्रदान गरेको छ ।

कुनै पनि वैकल्पिक शिक्षण सिकाइ माध्यमको पहुँचको अभावमा रहेका विद्यार्थीलाई विद्यालयमै पठनपाठन गरिरहेको भए पनि कोरोनाको जोमिख बढ्दै गएपछि पठनपाठन क्रियाकलाप स्थगन गरिएको पालिकाले जनाएको छ ।

विद्यालयमा शिक्षण सिकाइका अभ्यास भइरहेको अवस्थामा गाउँपालिकास्तरमा कोरोना संक्रमण फैलिएपछि नौबहिनी गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले जानकारी दिए ।

नौबहिनी गाउँपालिकामा १५ सक्रिय कोरोना संक्रमित रहेका छन् । उनका अनुसार संक्रमितहरु यसअघि समुदायमा घुलमिल भएका व्यक्ति रहेकाले अवस्था जोखिम रहेको छ । जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको अनुमति र निर्णयबिना धमाधम विद्यालयले पठनपाठन सुरु गरेका थिए ।

सरकारले वैकल्पिक शिक्षाबाट शिक्षण गराउन अनलाइन, रेडियो, टेलिभिजन, भिडियो, अडियो, नोट आदिबाट गराउन सकिने भनिए पनि प्रविधिमा विद्यार्थीको पहुँच कमी हुने भएका कारण नौबहिनीमा असोज १ गतेदेखि विद्यालयमै पठनपाठन सुरु गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि