काठमाडौं । धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् ।
भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको हो ।
सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो ।
सिद्धलेक गाउँपालिकामा राधेले क्रसर सञ्चालन गरेका छन् । बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए ।
जिल्लाका डिएसपी लोकनाथ तिम्सिनाका अनुसार जनप्रतिनिधिले उक्त कार्य रोक्न भनेपछि भण्डारीले उल्टो जनप्रतिनिधिलाई धम्की दिएका थिए ।
गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
प्रहरीले उनको क्रसर पनि बन्द गराएको छ । अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएका थिए ।
भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए ।