जेठ ०२, २०८१, बुधबार
               

चन्दननाथ मन्दिरबाट हराएको बहुमूल्य दाहिने शङ्ख भेटियो

रासस
असोज २२, २०७७

ADVERTISEMENT

जुम्ला । हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहिने शङ्ख भेटिएको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो ।

तीन दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

‘मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगायौँ’, प्रहरी नायब उपरीक्षक काफ्लेले भने, ‘उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटाएका छौँ ।’ अनुसन्धान प्रक्रियालाई घनिभूत ढङ्गले अघि बढाइएको उनले बताए ।

तीन दिनअघि पक्राउ परेका चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील बिष्टको खेतको आलीनजिक सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा राखिएका दुई थान मूर्ति र शंकास्पद बिष्टसहित तीनजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

यो घटनाबाट चार वर्षअघि चोरी भएका चन्दननाथका मूर्ति चोरीबारे खुल्न थालेको प्रहरीले जनाएको छ ।

यो चार वर्षको अवधिमा २०७३ पुस १९ देपालगाउँको खोलामा १७ थान, २०७६ माघ ६ गते चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित खेतको आलीमा १८ केजीको चाँदीको एक थान र यही अशोज २० गते बोहोरागाउँमा दुई थान मूर्तिहरु बेबारिसे अवस्थामा भेटिएका थिए । विसं २०७३ मङ्सिर ११ गते चन्दननाथ मन्दिरबाट एक दाहिने शङ्खसहित २१ थान मूर्ति चोरी भएका थिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि