बुटवल । प्रदेश ५ को नाम अब लुम्बिनी प्रदेश हुने भएको छ ।
मंगलबार प्रदेश सभामा प्रदेशको नाम ‘लुम्बिनी प्रदेश’ राख्ने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएसँगै प्रदेशको नाम लुम्बिनी रहने भएको हो ।
प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी राखियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसपछि नामका बारेमा मतदान भएको थियो ।
मतदानमा सो प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको छ । प्रदेश सभामा रहेका ८७ मध्ये ८३ जना सांसद मतदानमा सहभागी भएका थिए ।
लुम्बिनी नाम राख्ने पक्षमा दुईतिहाइ बहुमत पुगेपछि नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नाम लुम्बिनी रहेको सभामुख पूर्णबहादुर घर्तीले सभामा घोषणा गरे ।