बैशाख २३, २०८१, आइतबार
               

तनहुँबासी दशैँमा घर फर्किँदा १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नुपर्ने

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

तनहुँ । तनहुँबाट बाहिरिएकाहरु दशैँमा घर आउँदा १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।  

चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्यांक राख्ने र अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

त्यसका लागि स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।  बैठकले प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ ।

ब्यास नगरपालिका–५ कालीभञ्जन गण (ई) मा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निर्णय भएको प्रजिअ आचार्यले बताए ।  

उनका अनुसार आइसोलेसनमा रहेका सङ्क्रमितको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै बहिर्गमन गर्दा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निर्णय भएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि