जेठ ०२, २०८१, बुधबार
               

जलुकेका स्थानीयले नाचगान र भोजभतेरसहित गरे बिजुलीकाे स्वागत

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

मकवानपुरको कैलाश गाउँपालिकास्थित जलुकेमा पहिलोपटक बिजुली बलेको छ । कैलाशको वडा नं १ मा पर्ने जलुकेमा बिजुली पुगेपछि स्थानीयले नाचगान र भोजसमेत गरेका छन् । घरघरमा बिजुली बलेपछि गाउँ नै उज्यालो भएको छ । प्याट्ट स्वीच थिचेपछि आफूले चाहेको बेला बत्ती बल्दा जलुकेवासी दङ्ग छन् ।

गाउँमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न जलुकेवासीले अनवरत प्रयास गर्दै आएका थिए । पछिल्लोपटक विनाशकारी भूकम्प गएको वर्षदेखि नै उनीहरूले पहल थालेका थिए । नेपाल विद्युत् प्राधिकरण पालुङ वितरण केन्द्रको बिजुली छिमेकी गाउँसम्म पुगेपछि उनीहरूमा पनि बिजुलीको उज्यालोमा बस्ने इच्छा जागेको थियो । यो प्रयास पाँच वर्षपछि सफल भएको छ । जलुकेका धेरैले दियालोकै उज्यालोमा जीवन चलाए । मट्टितेल राखेर टुकी बाल्दा उनीहरूलाई नयाँ प्रविधि भित्रिएजस्तो लाग्थ्यो । मैनबत्ती बालेर खर्चले पुग्दैनथ्यो । पछिल्लो समय कतिपयले ब्याट्रीबाट भान्सा र सुत्ने ठाउँ उज्यालो पार्थे । सोलार प्रविधिबाट बत्ती बाल्नेहरुले दिउँसो घाम लागे राति उज्यालो पाउँथे । आज यी सबै आवश्यक नहुने स्थानीय वाङ्गेल लामाले बताए ।

अहिले जलुकेको ५५ घरमा बिजुली बलेको छ । उनीहरूले बिजुली बाल्न गाउँबाटै दुई लाख ७५ हजार उठाएका थिए । श्रमदान पनि उत्तिकै गरे । जम्माजम्मी १२ लाखको लागतमा गाउँमा बिजुली पुगेको वडाध्यक्ष पेमा लामाको भनाइ छ । 

जलुकेकी नीरमाया सिञ्जाली मगर अहिले ५२ वर्षकी भइन् । अहिलेसम्म हर्षले सायदै उहाँको आँशु खसेको थियो । घरमा बिजुली बल्दा हर्षले आँशु खसेको उनले पत्तै नपाएकाे बताइन् । पहिलोपटक गाउँ नै झिलिमिली हुँदा गाउँका सबैको मुहार हँसिलो भएको छ । मोबाइल चार्ज गर्न पनि अर्को गाउँ जानुपर्ने बाध्यता अब हटेको उनले बताए । 

जलुकेमा बिजुली पुगे पनि वडाकै अन्य धेरै ठाउँ अझै अन्धकार छ । बिजुली पुगेको छैन । वडाको खोलाखर्क, फूलढुङ्गा, नौलेटोललगायत टोलमा अझै बिजुली नपुगेको वडाध्यक्ष लामाले बताए । जलुकेमा बिजुली पुगेपछि अब क्रमशः छिमेकी गाउँहरुमा पनि बिजुली पुर्‍याउने वडाको लक्ष्य छ । छिमेकी थाहा नगरपालिका बिजुलीले झलमल्ल भए पनि कैलाश गाउँपालिकाको धेरै ठाउँमा अझै बिजुली पुगेको छैन । गाउँपालिकाले बाटो (सडक) र बिजुलीलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष टङ्क मोक्तानले बताए । 


कस्तो लाग्यो ?

यो पनि