रौतहट । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ ।
गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउत आज (बिहीबार) बिहान महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी हुन् ।
कटानी बजारका एक युवकसँग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले बुधबार साँझ वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए ।
प्रहरीले दुबैलाई निन्यत्रणमा लिएर स्वास्थ्य जाँच गराएको थियो ।
हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले जानकारी दिए ।
प्रहरीले ती महिला छारेरोगको बिरामी रहेको र लामो समयदेखि औषधी सेवन गरिरहेको बताएको छ ।
यसअघि गत साउनमा पनि गरुडास्थित प्रहरी कार्यालयको हिरासतमा एक युवकको मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीयले आन्दोलन गरेका थिए ।