बैशाख १७, २०८१, सोमबार
               

ठगी धन्दा : असईको परीक्षा चलाउने नक्कली इन्सपेक्टरसहित ६ जना पक्राउ

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

बारा । प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर ठगी गर्दै हिँड्ने एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय छन् ।

रायलाई बुधबार नेपाल प्रहरीको इन्सपेक्टरको बर्दीमै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

९ महिनादेखि परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै यादवले ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि पनि उनी सरकारी छाप किर्ते अभियोगमा जेल परिसकेका व्यक्ति हुन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित देवपार्टी प्यालेसमा परीक्षा सञ्चालन गरेर यादवले विभिन्न व्यक्तिहरुबाट तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नुअघि उनले देवपार्टी प्यालेसमा प्रहरी सहायक निरीक्षक (असई), राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए । 

परीक्षा चल्दै गर्दा मध्यान्ह १२ बजेतिर प्रहरी पुग्यो । जहाँ बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थी परीक्षा दिइरहेका थिए ।

लोक सेवा आयोगले कुनै परीक्षा गरिरहेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्सासँग थिएन । जिल्ला प्रहरी कार्यालय तथा प्रहरी कार्यालय विर्ताबाट प्रहरीको टोली पुगेर सोधपुछ गर्दा ठगी धन्दा सार्वजनिक भएको हो ।

'त्यहाँ सम्पूर्ण हिसाबले सक्कली परीक्षा जस्तै तयरी गरिएको थियो',  जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले भनिन्, 'परीक्षार्थीहरु मास्क लगाएर बसेका थिए, प्रश्न पत्र र उत्तर पुस्तिका बाँडिएको थियो, उनीहरुलाई कतिपयलाई प्रहरी सहायक त कतिपयलाई अन्य जागिर दिलाइदिने आश्वासन दिइएको रहेछ ।'

रायको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र थान–२, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र थान–२१, तिनको प्रश्न पत्र थान–२६, खरिदारको प्रवेश पत्र थान–१ बरामद गरिएको प्रहरीले जनाएको छ ।

रायसँगै प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का ५७ वर्षीय हिरालाल महतो, बर्ष २८ को वसन्त चौधरी, पर्सा वीरगन्ज महानगरपालिका–१६ का २१ वर्षीय रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका–५ का ४७ वर्षीय शिवनारायण चौरसिया र वीीरगन्ज–२७ रानीघाटका २५ वर्षीय रामजी चौरसिया समेतलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि