कञ्चनपुर । बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म १ च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
जीपमा फल्स बटम बनाई लुकाइछिपाइ अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापका अनुसार काठ तस्करीमा संलग्न बेदकोट नगरपालिका–५ का २५ वर्षीय घनश्याम पन्त र शुक्लाफाँटा नगरपालिका–८ बस्ने २२ वर्षीय मोहन बोहरा रहेका छन् ।
जीपमा लुकाइछिपाइ राखेको पाँच फिट एक इन्च लम्बाइ, तीन इन्च उचाइ, चार इन्च चौडाइ भएका सालका १५ थान चिरान गरिएको काठ बरामद गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
बरामद भएको काठ, जीप र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ । काठ र जीप गरी जम्मा १२ लाख ३० हजार रुपैयाँ मूल्यको छ ।