देशभर फैलिएको कोरोना भाइरसको ईपिसेन्टर काठमाडौं उपत्यका बनेको छ । करिव ५० लाख जनसंख्या बसोबास गर्ने काठमाडौं उपत्यकामा प्रतिआधा घण्टा एक जनामा संक्रमण हुने तथ्याङ्क छ ।
काठमाडौं उपत्यकालगायत बाक्ला बस्तीमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको छ । मानिसको धेरै भीडभाड हुने ठाउँ तथा सहरमा स्वास्थ्य मापदण्ड राम्ररी पालना नहुँदा संक्रमण बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण फैलिरहेकै बेला अहिले लामो तथा छोटा दूरीका गाडी सञ्चालनमा छन् भने आन्तरिक हवाई उडान पनि सुरु भइसकेको छ । यसले कोरोना संक्रमणको जोखिम थप बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउँछन् ।
यस्तै दशैँ, तिहार र छठ जस्ता पर्व नजिकिँदै गएका छन् । काठमाडौंमा अस्थायी रुपमा बस्नेहरू आ–आफ्नो गृह जिल्ला फर्कने गर्छन् । सार्वजनिक गाडीमा ओहोरदोहोर गर्दा, बजार पसल जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न स्वास्थ मन्त्रालयको आग्रह छ ।
अबको दशैमा एक ठाउँबाट अर्को ठाउँमा कोरोनाको संक्रमण सजिलै फैलने खतरा बढेको स्वास्थ मन्त्रालयका प्रवक्ता गौतम बताउँछन् । उनी भन्छन् ‘कोरानाको संक्रमण बढेकोले अब आउँदै गरेका चाड पर्वका कारण अझ संक्रमण फैलन सक्ने जोखिम छ, दशैँ नजिकिँदै गर्दा शहर र घनाबस्तीबाट आफ्नो घरगाँउ जाने क्रम सुरु भइसकेकाले जोखिम बढेको छ ।’
दशैँमा आशीर्वाद लिन घर जाँदा कतै कोरोना पनि छ कि भनेर स्वास्थ्य सावधानी अपनाउनु पर्ने उनको भनाइ छ । गौतम भन्छन् ‘दशैँमा घर जाँदा कतै परिवारलाई कोरोना कोसेली पो लिएर जाँदै छैनौँ ?’ उनले गाउँ घरमा रहेका ज्येष्ठ नागरिक, दीर्घ रोगीहरूलाई कोरोनाबाट जोगाउन चुनौती थपिएको पनि औँल्याए ।
यस्तै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ जना छन् । निको हुनेको संख्या बढे पनि संक्रमण दर अझ उच्च छ । जसले गर्दा चाडपर्वमा झनै जोखिम थपेको छ ।