असोज ०६, २०८१, आइतबार
               

उपत्यकामा हरेक दुई मिनेटमा एकजनालाई कोरोना सङ्क्रमण

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

पछिल्ला दिनको आँकडाअनुसार काठमाडौं उपत्यकामा प्रत्येक एक घन्टामा सरदर ३१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसअनुसार  प्रत्येक दुई मिनेटमा एक जना सङ्क्रमित हुनेछन् । पछिल्लो एक सातालाई आधार मान्दा काठमाडौं उपत्यकामा प्रतिदिन सात सयको हाराहारीमा नयाँ सङ्क्रमित थपिएको देखिन्छ । कोरोना सङ्क्रमणबाट मुलुकभर हालसम्म ६४ हजार एक सय २२ जना सङ्क्रमित भइसक्दा काठमाडौं उपत्यकामा मात्र १६ हजार ६ सय १६ जना संक्रमति भएका छन् ।

कुल सङ्क्रमितको एकतिहाइ बढी २५ प्रतिशत बढी सङ्क्रमित रहेको काठमाडौंमा समुदायस्तरमा सङ्क्रमण फैलिएको छ ।यद्यपि देशभर सङ्क्रमण पुष्टि भएकामध्ये ७२ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् । ४६ हजार २२७ सङ्क्रमित सङ्क्रमण मुक्त भइसक्दा काठमाडौमा धेरै सङ्क्रमणमुक्त भइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार देशभर सङ्क्रमितमध्ये २७ प्रतिशत बढी अर्थात् करिब १८ हजार जना अझै आइसोलेसनमा छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्र आठ हजार बढी सक्रिय छन् ।

 यसरी बढ्यो कोरोना सङ्क्रमण

काठमाडौंमा साउन ५ गते काठमाडौमा दुई जना सङ्क्रमित थपिएका थिए । सात गतेबाट औपचारिक रुपमा लकडाउन  अन्त्य भयो । यो सङ्ख्या बिस्तारै बढ्दै गयो । साउन १९ गते ४३ जना सङ्क्रमित थपिए । योसँगै सङ्क्रमित थपिने सङ्ख्या दोहोरो अङ्कमा बढ्दै गयो । साउन  २७ गते एकै पटक एक सय १० जना  थपिए ।

यसरी सङ्क्रमित थपिने क्रम तीन अङ्कमा पुग्यो । भदौ ९ गते दुई सयनजिक पुग्यो । यसरी थपिने  सिलसिला अझै जारी  छ । यो सिलसिला आइतबारसम्म सात सय ६७ पुगेको छ । पछिल्ला दिनमा यही हाराहारीमा संक्रमति देखिँदै आएका छन् । काठमाडौं महानगरका सबै वडा र नगरक्षेत्रका टोलमा अहिले सङ्क्रमित छन् । यसरी काठमाडौँ ‘हटस्पट’ बन्नुको कारण लकडाउन खोलेसँगै काठमाडौंमा मानिसहरूको प्रवेश र  चेकजाँचको चुस्त प्रबन्ध नहुनु हो । 

यस्तै, पछिल्लो तीन साताको निषेधाज्ञा पनि प्रभावकारी नभएकोले कोरोना सङ्क्रमण बढेको देखिन्छ ।  नेपालमा कोरोना भाइरसबाट पहिलो संक्रमित व्यक्तिको पहिचान भएको करिब आठ महिना पुगेको छ। संक्रमण नियन्त्रण गर्न गरिएका लकडाउन र निषेधाज्ञा पनि खासै प्रभावकारी देखिएन। त्यसैले त अहिलेको संक्रमण ग्राफ ह्वात्तै बढेको देखिन्छ ।

सक्रिय संक्रमित नै आइसोलेसनबाहिर

स्वास्थ मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हाल आठ हजार सक्रिय सङ्क्रमित छन् । जसमध्ये काठमाडौं जिल्लामा सात हजार ३१७, भक्तपुरमा ७१८ र ललितपुरमा ६०६ सक्रिय सङ्क्रमित रहेको तथ्याङ्कमा उल्लेख छ ।  उपत्यकामा हाल साँढे दुई हजार जना मात्र संस्थागत वा होमआइसोलेसनमा छन् । 

यस्तै, ललितपुरमा दुई सय र भक्तपुरमा एक सय ३० जनामा आइसोलेसनमा रहेको तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्कमा होमआइसोलेसनलाई समेत समावेश गरिएको छ । 

बाँकी साँढे पाँच हजार सक्रिय सङ्क्रमित सम्पर्कमा नभएको तथ्याङ्क छ ।काठमाडौं महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुँवर भन्छन्, ‘पिसिआर टेस्ट गर्दा नै लगत सम्पर्क नम्बर दिने वा कोरोना सङ्क्रमणको खबर गर्दा पनि सम्पर्कमा नआउने धेरै छन्, करिब पाँच हजारजति यस्ता व्यक्ति छन् ।’

यी हुन् धेरै सङ्क्रमित रहेका १० जिल्ला 

काठमाडौँ 

पर्सा 

सर्लाही

मोरङ 

रौतहट 

धनुषा

कैलाली

रुपन्देही

महोत्तरी

 बाँके  


कस्तो लाग्यो ?

यो पनि