जेठ ०१, २०८१, मंगलबार
               

तीन करोड लिटर पानी हालेर भरियो रानीपोखरी

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी पाँच वर्षपछि भरिएको छ ।

खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । 

निर्देशनालयले दुई दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए ।

विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । 

यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो । 

निर्देशक थापाका अनुसार रानीपोखरीमा तीन करोड लिटर पानी भरिएको छ । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ ।

रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भवायर टंयाकी भरेको थियो । जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले जानकारी दिए ।

पानीपोखरीबाट रानीपोखरीसम्म पानी पुर्याउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाईन उपयोग गरिएको थियो ।

मेलम्चीको पाइपलाइइन प्रयोग गरेर रानीपोखरीमा सहजतापूर्वक पानी भर्न सकिएको थापाले बताए । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम सकिने चरणमा छ । प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् ।


कस्तो लाग्यो ?

यो पनि