जेठ ०६, २०८१, आइतबार
               

नेपालीलाई कोरोनाले छेकेन मजदुरीका लागि भारत जान

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि नेपाल–भारत सीमा नाका बन्द र लकडाउन जारी रहिरहेका बेला  लगाउँदा भारतबाट स्वदेश फर्किनेहरुको चाप रहेको कञ्चनपुरको गड्डाचौकी र डोकेबजारस्थित गौरीफन्टा नाकामा यतिबेला मजदुरीका लागि भारत जानेहरुको चाप बढ्दै गएको छ ।

भारतमा दैनिक ८० हजारभन्दा बढी सङ्क्रमित थपिनुका साथै दिनहुँ हजारौँको सङ्ख्यामा कोरोना सङ्क्रमणबाट मृत्यु भइरहेका खबर आइरहे पनि स्वदेशमा रोजगारी नहुँदा आफूहरु भारत जान बाध्य हुनुपरेको युवा बताउँछन् । 

सुदूरपश्चिम प्रदेशको रोजगारीको प्रमुख गन्तव्य रहेको भारतबाट लकडाउन अवधिमा झण्डै डेढ लाख मानिस स्वदेश फर्किएको तथ्याङ्क छ । स्वदेशमा स्वरोजगारका लागि कुनै योजना नहुनुका साथै आफूहरुको परिवारमा रोगभन्दा पनि भोकले मर्ने अवस्था आएपछि भारत जानुको विकल्प नरहेको मुग्लान जानेहरुको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौ हजारलाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाए पनि रोजगारीका लागि पुनः भारत जाने क्रम बढ्दै छ  । सरकारले प्रदेशका नौवटा जिल्लाका ८८ वटै स्थानीय तह र कृषि ज्ञान केन्द्रमा रोजगारीका लागि आवेदन दिन आह्वानसमेत गरेको छ ।

सरकारले कृषि तथा पशुपक्षी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई आवेदन दिन आगामी असोज ६ गतेसम्मको समय तोकेको कृषि ज्ञान केन्द्र महेन्द्रनगरले जनाएको छ । यहाँ आवेदन दिनेको भीड नै लागेको छ । 
महेन्द्रनगरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले भने, अहिलेसम्म तीन सयभन्दा बढीले आवेदन दिइसकेका छन् । उनले आवदेन दिएका सबैलाई सरकारले सम्बोधन गर्न भने सम्भव नरहेको बताए ।

प्रदेश सरकारले नौ हजार जनालाई स्वरोजगार तथा रोजगारी दिने योजना बनाएको छ । हालै जारी सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा बाख्रापालन, बङ्गुरपालन, फलफूल खेती, गाईभैंसीपालन, माछापालन, स्थानीय कुखुरा र हाँस तथा अन्य मासुजन्य पक्षीपालन, नर्सरी तथा पुष्प व्यवसाय र अन्य गरी १० वटा कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई कार्यक्रम दिने भनेको छ ।

लामो समय लकडाउन हुँदा भोक टार्नसमेत समस्या हुन थालेपछि बाध्य भएर भारत जान लागेको भीमदत्त नगरपालिका–१३ का सन्त सुनारले बताए । सरकारले घरमै बसेर सुरक्षित रहनुस् भन्छ तर हामीसित अहिले नै छाक टार्न चामल छैन । लालाबालासहित गड्डाचौकीबाट भारत जान लागेका सुनारले बताए । सरकारले दिने भनेको रोजगारी पाउने बेलासम्म नै के खाने भन्ने समस्या छ । यतिबेला भारत बस्नुपर्ने हाम्रो बाध्यता हो । उनले स्वरोजगारको व्यवस्था नभएकाले धेरै स्थानीयहरु विदेसिन बाध्य रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गौरीफन्टा र गड्डौकी नाकाबाट गरी दैनिक पाँचदेखि ६ सय नेपाली भारततर्फ रोजगारीका लागि जान थालेको जनाएको छ । ‘आधार कार्ड र रासन कार्ड  भएका र भारतीय कम्पनीले पनि प्रक्रिया पुर्‍याएर  नेपालीहरुलाई भारत लगिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने । 

त्यसैगरी, गड्डाचौकी नाकाबाट भारत भइरहेका कृष्णपुर नगरपालिका–२ का बेलुराम चौधरीले लकडाउनमा परिवार पाल्न धौ–धौ भएकाले भारत जान लागेको बताए । लकडाउनकै बेला कोरोनाको त्रासले घर फर्किएँ, अब पनि यहाँ बसेर गुजारा चल्ने नदेखेपछि उतैतिर लागियो,’  उनले भने, ‘अहिले परिवारको लालनपालनका लागि भारत जानुको अर्को विकल्प रहेन ।’

यो पनि