बैशाख २५, २०८१, मंगलबार
               

हालसम्म ५ हजारभन्दा बढी सुरक्षाकर्मीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा आज बिहान आएको विनाशकारी भेल–पहिरामा परेकाको उद्धारमा सुरक्षाकर्मी तत्काल खटिए । उक्त घटनामा ठूलो जनधनको क्षति भएको छ । अहिले पनि उद्धार जारी छ ।

उद्धारका क्रममा घाइते महिलालाई पिठ्यूँमा बोकेर सशस्त्र प्रहरीका एक जवान गन्तव्यतर्फ जाँदै गरेको तस्बिर आज सार्वजनिक भयो । गम्भीर घाइते महिलालाई मजेत्रोको नाम्लो बनाएर बोकेको कारुणिक तर सराहनीय दृश्य त्यसमा देख्न सकिन्छ । 

सुरक्षाकर्मी र बिरामीले कोभिड–१९ बाट जोगिनका लागि चाहिने आवश्यक सुरक्षा मापदण्ड प्रयोग गर्न सकेको देखिँदैन । आपत‍्कालीन अवस्थामा एक त त्यस्ता सामग्री पाउन सकिँदैन, पाइए पनि प्रयोग गर्ने अवस्था नहुनसक्छ । आपतविपतमा परेका व्यक्तिको जीउ जोगाउनुपर्ने गम्भीर अवस्थामा सुरक्षाकर्मीले चाहेर पनि स्वास्थ्य मापदण्ड अपनाउन सक्दैनन् भने यो एउटा उदाहरण हो ।

जिम्मेवारी पूरा गर्ने क्रममा परिस्थितिले कुनै बेला केही अफ्ठ्यारो गराउन सक्छ तर स्वास्थ्य मापदण्ड पूरा गर्नेमा स्पष्ट निर्देशन छ, सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल भने ।

यस्तै घटना विगतमा पनि नभएको होइन । काठमाडौंमै भएको सडक आन्दोलन होस् या क्वारेन्टाइनमा बसेका व्यक्ति ह्वारह्वार्ती निस्कँदा सुरक्षाकर्मीले स्वास्थ्य मापदण्ड प्रयोग गर्न नसकेका दृष्टान्त छन् जुन अधिकांशतः सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । केही अघि ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्न लाग्दा भीड नियन्त्रणमा खटिएका केही सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भएको थियो । 

ज्यानको बाजी थापेर नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मी यस्तै आपत‍्विपत‍्का बेला कोभिड–१९ बाट सङ्क्रमित हुन पुगेका हुन् । कतिपय अवस्थामा सुरक्षाका सबै उपाय अपनाउँदा अपनाउँदै पनि सङ्क्रमण हुन्छ । सुरक्षा मापदण्ड अपनाएर उपचारमा खटिएका स्वास्थ्यकर्मी सङ्क्रमित हुनुले त्यस कुरा प्रस्ट्याउँछ । 

कार्यक्षेत्रमा खटिएकै बेला सङ्क्रमित भई उपचारपछि निको भएर पुनः सेवामा खटिएका प्रहरी उपरीक्षक विमलराज कँडेल जस्तोसुकै परिस्थिति आए पनि सुरक्षाकर्मी राज्यले दिएको जिम्मेवारीबाट विमुख हुन नहुने बताए । उच्च आत्मबल भयो भने कोरोनालाई जित्न सकिने दृढ विश्वास सुरक्षाकर्मीमा छ । त्यसैले अहिलेसम्म धेरै सुरक्षाकर्मी कोरोना जितेर काममा फर्किइसकेका छन् । 

पछिल्लो समयमा मुलुकभर सङ्क्रमितको सङ्ख्या बढेसँगै सुरक्षा निकायमा पनि दर बढ्दो छ । नेपालका चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) बाट प्राप्त विवरणअनुसार आजसम्म पाँच हजार १३५ सुरक्षाकर्मीमा कोभिड–१९ देखिसकेको छ । त्यसमध्ये दुई हजार १८ जना कोरोना जितेर कार्यक्षेत्रमा खटिइसकेका छन् । निको भएकामा उच्च मनोबल देखिएकाले अन्य प्रहरी कर्मचारीलाई समेत हौसला मिलेको नेपाल प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत बताए ।

गत माघ ९ गते चीनको वुहानबाट आएका एक नेपालीमा कोभिड–१९ देखिएपछि त्यसको रोकथामका लागि सरकारले आवश्यक योजना बनाउन थाल्दा नेपाली सुरक्षाकर्मीले सम्भावित जोखिम आङ्कलन गरेर आन्तरिक तयारी थालेका थिए । 

मुलुकमा अकस्मात आइपर्ने महामारी, राष्ट्रिय विपद् होस् या हूलदङ्गा सबै नियन्त्रणको नेतृत्व लिँदै आम–नागरिकलाई सुरक्षाको पूर्ण–प्रत्याभूति दिलाउने जिम्मेवारी सुरक्षा निकायको काँधमा छ । आइपर्ने जोखिम मोल्न तयार भएर यसपालिको कोभिड–१९ विरुद्धको युद्धमा होमिएका सुरक्षाकर्मी यस्तै आपत्विपद् र शान्तिसुरक्षामा खटिएकै बेलामा  सङ्क्रमण भएका छन् । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर ७७ वटै जिल्लामा अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मीमा पछिल्लो समयमा नियमित सङ्क्रमण देखिन थालेको छ । 

पछिल्लो एक साताको विवरणले सुरक्षा निकायमा सङ्क्रमणको क्रम बढ्दो देखाउँछ । एक सातामै एक हजार ५०० बढी सुरक्षाकर्मी कोरोना सङ्क्रमित भएका छन् । मुलुकभर सङ्क्रमण दरमा बढिरहेका बेला त्यसको प्रत्यक्ष प्रभाव सुरक्षा निकायमा प्रस्ट देखिन्छ । 

गत वैशाखबाट सुरक्षा निकायमा सङ्क्रमण देखिएको थियो । जेठको पहिलो सातासम्म १२ सुरक्षाकर्मीमा सङ्क्रमण थियो  । नेपाल प्रहरीतर्फ जेठ ३ गते एक प्रहरी जवान पहिलो सङ्क्रमित भए । त्यसपछि सङ्क्रमण दरमा क्रमशः वृद्धि भएकामा साउन ६ गते बन्दाबन्दीको अन्त्यलगत्तै सर्वसाधारणको चहलपहल बढ्दा सङ्क्रमणले गति लिएको जनस्वास्थ्य विज्ञको भनाइ छ ।

सुरक्षा निकायमा देखिएको सङ्क्रमणमध्ये सबैभन्दा बढी नेपाल प्रहरीमा छ । त्यसपछि नेपाली सेनामा बढी देखिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अधिकांश लक्षणविहीन रहेको र धेरै निको भएर घर फर्किसकेको बताए । उनीहरू उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिएका उनले जानकारी दिए ।

सबैभन्दा बढी नेपाल प्रहरीमा सङ्क्रमण 

हालसम्म चार सुरक्षा निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरी सङ्क्रमित भएका छन् । सर्वसाधारणसँग प्रत्यक्ष साक्षात्कार हुने भएकाले प्रहरी बढी प्रभावित भएका हुन् ।  

सार्वजनिक तथ्याङ्कअनुसार नेपाल प्रहरीमा आजसम्म कूल दुई हजार ८१७ मा सङ्क्रमण भएको छ ।  उनीहरूमध्ये एक हजार २३३ प्रहरी निको भएर कार्यस्थलमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी जोखिम आङ्कलन गरेरै आवश्यक सुरक्षा सावधानीका साथ कार्यक्षेत्रमा खटिँदै आएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताए । 

सङ्क्रमित प्रहरी कर्मचारीमा उच्च मनोबल छ, निको भएर मुलुकको सुरक्षाप्रति थप प्रतिबद्ध हुँदै कार्यस्थलमा खटिएका छन्, पोखरेलले भने, जोखिम रोक्ने महत्वपूर्ण भूमिका प्राप्त प्रहरी जिम्मेवारीबाट पन्छिदैन ।  तर सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले शान्तिसुरक्षामा ठाउँठाउँमा खटिनुपर्ने प्रहरीको उपस्थिति न्यून गर्नुपर्ने बाध्ययताको सम्भावना देखिएको छ ।

नेपाली सेनाका एक हजार ३०० भन्दा  बढी

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार नेपाली सेनामा पछिल्लो एक सातामा सङ्क्रमित ह्वात्तै बढेको छ । अहिलेसम्म कूल एक हजार ३८३ मध्ये झण्डै ७०० पछिल्लो एक हप्तामै सङ्क्रमित भएका उनले जानकारी दिए । सबैभन्दा बढी मध्यपूर्वी पृतनामा १८९ जना सङ्क्रमित छन् । उपत्यकामा १८४, मध्यपश्चिम पृतनामा १५४ मा सङ्क्रमण देखिएको छ । सेनाका ५६ स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएका छन् । 

पौडेलका अनुसार सङ्क्रमितमध्ये २९४ निको भएर कार्यक्षेत्रमा खटिएको र बाँकीको उपचार जारी छ । पछिल्लो एक हप्तामै सङ्क्रमणदर एक्कासि बढ्दा निको हुने प्रतिशत कम देखिएको उनले बताए ।

सशस्त्र प्रहरीका ९१५ पोजेटिभ 

सशस्त्र प्रहरी बल नेपालका ९१५ जना सङ्क्रमित भएका छन् । त्यसमध्ये झण्डै ५५ प्रतिशत निको भएका छन् । हाल ४३५ उपचाररत रहेका सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताउनुभयो ।  सशस्त्र प्रहरीका अधिकांशमा लक्षण देखिएको छैन । मुख्यगरी सीमा नियन्त्रण, भीडभाड नियन्त्रण, आइसोलेसन व्यवस्थापन, सर्वसाधारणको सुरक्षा, भीडभाड नियन्त्रण, सडक सुरक्षामा बसेका बेला उनीहरू सङ्क्रमित हुन पुगेका अर्याल बताउनुहुन्छ । आवश्यक स्वास्थ्य मापदण्ड अपनाउने गरिए पनि सङ्क्रमण हुने क्रम भने रोकिएको छैन ।

राष्ट्रिय अनुसन्धानका २० मा कोरोना 

सरकारका लागि सम्भावित जोखिमको सूचना सङ्कलनमा सादा पोसाकमा खटिने राष्ट्रिय अनुसन्धान विभागका २० जनामा पनि कोरोना देखिएको छ ।

प्राप्त विवरणअनुसार विभागअन्तर्गत रहेको उनीहरूमध्ये अहिले ११ जना उपचाररत छन् । प्रदेश २ मा सबैभन्दा बढी नौ जना सङ्क्रमित छन् । 

वाग्मती प्रदेश सात, गण्डकी एक, प्रदेश ५ मा दुई र सुदूरपश्चिम प्रदेश एक जनामा सङ्क्रमित देखिएको विभागले जनाएको छ । विभागका एक सुरक्षा अधिकारीले कसैलाई पनि लक्षण नदेखिएको र आइसोलेसनमा भएकाबाहेक सबै उच्च मनोबलका साथ काम गरिरहेको उनले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि