जेठ ०६, २०८१, आइतबार
               

बडिकेदार जिल्लाकै पहिलो कोरोनामुक्त गाउँपालिका

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

डोटी । डोटीको बडिकेदार गाउँपालिका जिल्लाकै पहिलो कोरोनामुक्त गाउँपालिका बनेको छ । 

कोरोना सङ्क्रमण देखिएका स्थानीयवासीको स्वाब सङ्कलनको नतिजा नेगेटिभ आएसँगै सो गाउँपालिका जिल्लाको पहिलो कोरोनामुक्त गाउँपालिका बनेको हो ।

गत जेठमा भारतबाट घर फर्किएका १३ जनामा कोरोना सङ्क्रमण देखिएको र आइसोलेसनमा उपचार गराएर उनीहरु निको भएपछि बडिकेदार गाउँपालिका अहिले कोरोनामुक्त भएको सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, हाम्रो गाउँपालिका हाललाई कोरोना सङ्क्रमण मुक्त गाउँपालिका भएको छ ।

छिमेकी जिल्ला र स्थानीय तहहरुमा कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा सङ्क्रमणको स्थितिलाई दृष्टिगत गरी थप सङ्क्रमण फैलिन नदिन रोकथाम तथा उपचारसम्बन्धी कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाई आवतजावत बन्द गरिएको अध्यक्ष चन्दको भनाइ छ ।

उनका अनुसार एक टोेलबाट अर्को टोलमा आवतजावत गर्न, पशुचौपाया खरिद–बिक्री गर्न, आपत्कालीन र अत्यावश्यक क्षेत्र खुला रहने गरी अत्यन्त जरुरी कामबाहेक घरबाट बाहिर हिँड्डुल गर्न, एम्बुलेन्स, शववाहन, कूटनीतिक नियोग, खाद्यान्न, तरकारी, औषधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र उनीहरुका सवारी साधनबाहेक अन्य सवारी साधन आवतजावत गर्न तथा गाउँपालिकासँग सीमा जोडिएका सम्पूर्ण नाका पूर्ण रुपमा बन्द गरिएको छ ।

कोरोना सङ्क्रमण फैलिन नदिन गाउँपालिकाले आफ्नो पालिकाभरिमा उच्च सतर्कता अपनाउन थालेको छ । पालिकाभरिमा सबै प्रकारका भेला, सभा, सम्मेलन, गोष्ठि, धार्मिक तथा सांस्कृतिक मेलापर्वलगायत कार्यक्रम पनि बन्द गरिएको छ । गाउँपालिकासँग सिमाना जोडिएका सम्पूर्ण नाका बन्द गर्ने निर्णय भएको छ, गाउँपालिका वडा ४ का अध्यक्ष वीरेन्द्र कोड्केनीले भने, कोरोना सङ्क्रमण आउन नदिन हामीले आफ्नो सीमा क्षेत्रलगायत पालिकाभरिमा आवतजावतमा कडाइ गरेका छौँ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाभरि लागू हुने गरी यही भदौ २१ गते राति १२ देखि २८ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक कामबाहेक अन्य कामका लागि जिल्लामा आवतजावतमा पूर्ण रुपमा निषेध गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि