बैशाख २२, २०८१, शनिबार
               

असोज १५ देखि आन्तरिक उडान गर्ने तयारी
अन्तर्राष्ट्रिय उडान सङ्ख्या पनि थपिँदै

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

कोरोना महामारी नियन्त्रणका लागि चैत्र ११ गतेबाट गरिएको लकडाउनपछि बन्द आन्तरिक उडान असोज दोस्रो साताबाट खोल्ने तयारी भएको छ । पहिलो चरणमा कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने गरी तयारी भएको हो ।

चाँडबाड नजिक आएको हुनाले उडान सुरु गर्न लागिएको सरकारी पक्षको भनाइ छ। हवाई सञ्चालकहरूले आन्तरिक उडान तत्काल खोल्न दबाब दिएपछि पटकपटकको भाकापछि सरकारले असोज १५ को मिति तय गरेको हो । यसअघि सरकारले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेको थियो । 

असोज १५बाट आन्तरिक उडान खोल्ने प्रस्ताव कोभिड–१९सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा यो प्रस्ताव पठाइसकेको पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईले बताए ।

‘आन्तरिक उडान कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने पक्षमा सरकार छ, सो बेला चाँडबाड पनि आउनेछन् र उडान पनि सुचारु गर्ने तयारी गरिरहेका छौँ,’ आर्थिक पत्रकारहरूको सङ्गठन सेजनको कार्यक्रममा बिहीबार मन्त्री भट्टराईले भने ।

हाल दैनिक सात आठ अन्तर्राष्ट्रिय उडान भइरहेको छ । त्यो सङ्ख्या बढाउँदै लैजाने मन्त्री भट्टराईले जानकारी दिए  । अहिले दैनिक करिब हजार जना स्वदेश फर्किएका छन् । यो सङ्ख्या अब दैनिक तीन हजारसम्म पुर्‍याउने लक्ष्य रहेको उनले बताए । 

स्वदेश फर्कन चाहने करिब पाँच लाख नेपाली रहेको बताउँदै उनले उनीहरूलाई तत्काल ल्याउने बताए । उनले भने ‘वैदेशिक रोजगारीमा गएकाहरूको रोजगारी गुमिसक्यो । कतिपय कम्पनीले कम्पनीकै खर्चमा नेपाल पठाउने भनेका छन् । कतिपय बेखर्ची भएकाहरूलाई उद्धार गर्नुपर्नेछ ।’

दक्षिण एसिया व्यावसायिक उडान गर्ने नेपाल नै पहिलो देश भएको मन्त्री भट्टराईको दाबी छ । विश्वमै अहिले औसतमा ५० प्रतिशतभन्दा कम उडाउन भएको उनको भनाइ छ ।

सरकारले कोरोना भाइरसको जोखिमका कारण गत चैतदेखि आन्तरिक उडान बन्द गरेको छ भने अन्तर्राष्ट्रियतर्फ भने केही समययता सुरक्षाका मापदण्ड अपनाएर सीमित गन्तव्यमा नियमित र चार्टरमार्फत उडान हुँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि