बैशाख २३, २०८१, आइतबार
               

कोरोना संकटले बढायो आत्महत्याको दर
मनोविद् भन्छन्, ‘व्यवसाय तथा जागिर विस्थापित भएकालाई पुनर्स्थापना प्याकेज ल्याउनुपर्छ ’

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

पछिल्लो समय नेपालमा आत्महत्याको दर ह्वात्तै बढेको छ । विगत केही दिनको प्रहरीको तथ्यांकलाई हेर्ने हो भने हरेक दिन १० जनाले आत्महत्या गर्ने गरेका छन् । 

गत आर्थिक वर्षका सुरुवाती दिनमा आत्महत्याका घटना औसत भए पनि कोरोना महामारीपछिको लकडाउन तथा निषेधाज्ञाको बेलामा यो सङ्ख्या ह्वात्तै बढेको हो । 

चालु आर्थिक वर्षको दुई महिनामा आत्महत्याका घटना औसतभन्दा बढेको देखिन्छ । गत वर्ष अथवा लकडाउन हुनुपूर्वको अवधिमा तीन हजार पाँच सय २४ जनाले आत्महत्या गरेका थिए । तर, लकडाउनको अवधिमा १५ सयभन्दा बढीले आत्महत्या गरेका छन् । यसले सामान्य अवस्थामा भन्दा लकडाउन अवधिमा आत्महत्या गर्नेको सङ्ख्या बढेको देखाउँछ ।गत वर्ष यही अविधमा घटेका घटनाभन्दा यो वर्ष ३० प्रतिशतले  आत्महत्याका घटना बढेका छन् ।  

मुलुकमा कोरोना महामारीका कारण भन्दा पनि आत्महत्याका कारणले धेरैको ज्यान गएको छ । यस्तो अवस्थामा सरकार गम्भीर नबनिदिँदा समस्या झनै थपिएको जानकारहरू बताउँछन् । 

‘विज्ञहरू भन्छन्, ‘सरकारले कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि चालेको कदम प्रभावकारी नहुँदा जनतामा निराशा छायो, खाली लकडाउन र निषेधाज्ञा मात्र गरिँदा अर्थतन्त्र निष्क्रिय भयो, जसको प्रभाव सबैलाई पर्‍यो, जसले धेरैलाई आत्महत्यासम्म डोहोर्‍यायो ।’

महामारीको त्रास, लकडाउन, आर्थिक सङ्कटदेखि महामारीले सिर्जना गरेका अन्य यावत सङ्कट नै आत्महत्याका कारण भए पनि मुख्यगरी आर्थिक कारण नै  मानिसको आत्महत्याको कारण भएको मनोविद् गोपाल ढकाल बताउँछन् ।

संसारभर बढी आत्महत्या हुने मुलुकमध्ये नेपाल सातौँ स्थानमा पर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्याङ्कलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि औसत आठ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । कोरोना महामारीपछि यो सङ्ख्या अझ बढी हुने सक्ने मानसिक रोग विशेषज्ञहरूको दाबी छ ।

आत्महत्याका कारणहरू

उदासीनतालाई आत्महत्याको मुख्य कारण मानिन्छ । सामान्यतः धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकताभन्दा बढी उतार– चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविष्यप्रति कुनै आशा नलाग्नु आदि आत्महत्याका कारण हुन् । उदासीनताले आत्महत्यालाई बढावा दिने गर्छ । कोरोना महामारीपछि धेरैको जीवनमा थप उदासीनता आएको छ । यसरी आत्महत्या बढ्नुको प्रमुख कारण आर्थिक हो । यतिवेला मानिसहरु आर्थिक समस्याले जेलिएका छन् । कतिको जागिर गएको छ भने कति न्यून पारिश्रमिक लिन बाध्य छन् । कतिको उद्योग व्यवसाय बन्द छ त कतिको व्यापार व्यवसायमा ह्रास आएको छ ।

यस्तो अवस्थामा कसरी घर परिवार चलाउने ? कसरी बालबच्चा पढाउने ? बिरामी भएमा कसरी उपचार गर्ने ? कोरोना सङ्क्रमण भएमा के गर्ने ? भन्ने डरले आत्महत्यालाई रोज्ने गरेको पाइन्छ । ऋण लिएर व्यापार व्यवसाय सञ्चालन गर्दै आएकाहरु व्यापार व्यवसाय ठप्प हुँदा कसरी ऋण तिर्ने ? भन्ने तनावमा आउँदा आत्महत्या गर्ने गरेको पाइन्छ । अहिले आत्महत्या गर्नेमा युवावर्ग धेरै देखिएको छ ।

युवा पुस्तामा करियरको चिन्ता हुने र यसमा समस्या आउनासाथै आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ । लामो समयको लकडाउन र सङ्क्रमणको डरले युवा पुस्तामा मनोवैज्ञानिक असर देखिएको छ । युवा पुस्ताका लागि राज्यले विशेष योजनासहितको प्याकेज दिन जरुरी छ । अन्य देशले आफ्ना नागरिकलाई कोरोना महामारी सुरु भए लगत्तै राहत प्याकेज ल्यायो, तर नेपालमा पुरै बेवास्ता गरियो, यसले पनि फ्रस्ट्रेसन बढेको पाइन्छ ।

त्यसैगरी पहिले नै मानसिक रोगीहरूको अवस्था झनै जटिल भएको छ । विभिन्न सहरमा बसेकाहरू गाउँमा घर गएका छन् । पहिले नै मानसिक रोगीहरू घरगएपछि कतिपयको नियमित औषधी छुटेको छ । अर्को कुरा मानसिक रोगको औषधिबिना प्रेस्क्रिप्सन खरिद गर्न पनि पाइँदैन । उनीहरु काठमाडौं आउन नपाउँदा र कोरोनाको त्रास बढ्दा तथा अर्कोतिर आर्थिक अवस्था कमजोर बन्दा मानसिक समस्याले आत्महत्यासमेत बढेको छ । डिप्रेसनमा रहेका व्यक्तिहरूमा औषधि छुट्यो भने अवस्था जटिल बन्ने  गरेको छ ।

क्वारेन्टिनमा बसेका तथा क्वारेनटिनबाट घर फर्किएका व्यक्तिले आत्महत्या गरेका छन् । नेपालको क्वारेन्टिनको अवस्थाले झनै मानिसहरूलाई आत्महत्यातर्फ प्रेरित गरेको छ । क्वारेन्टिनमा बसेकामध्ये कसैलाई सङ्क्रमण भएमा  अपराधीलाई जस्तो घृणाको व्यवहार गरिने भएकाले समेत धेरैले आत्महत्या रोजेका छन् । सङ्क्रमण सकिएपछि घर फर्किएपछि परिवारजनमा रोग सर्छ भन्ने तनावले पनि आत्महत्या बढ्न प्रेरित गरेको छ ।

आत्महत्या गर्ने अर्को वर्ग हो किशोर–किशोरी । प्रेम सम्बन्धमा रहेका किशोर किशोरीहरूलाई अभिभावकले छुटाउँदा, एक अर्कालाई भेट्न नपाउँदा, कुराहरू शेयर गर्न नपाउँदा फ्रस्टेसनमा गएको पाइएको छ । यस्तो अवस्थामा भावावेगमा आएर आत्महत्यासम्म पुगेको पनि पाइएको छ ।

गोपाल ढकाल, मनोविद्

आत्महत्या दर घटाउने मनोवैज्ञानिक उपाय

व्यापार व्यवसाय गर्नेहरूमा मनोसामाजिक असर बढी देखिएको छ । व्यवसाय गर्नेको घर भाडा महँगो छ, कर्मचारी छन्, बैंकको ऋण छ, तर व्यवसाय चलेको छैन । तर, यस्तोमा सरकारबाट कुनै राहत प्याकेज छैन । सरकारले व्याजमा सहुलियत दिने, करमा छुट दिने, अवस्था सामान्य भएपछि कर तिर्न सक्ने व्यवस्था गरिदिने हो भने व्यवसायीलाई हौसला मिल्न मनोविद्हरूको सुझाव छ। व्यवसायबाट विस्थापित भएका तथा बेरोजगारको लागि उत्पादन र वितरणको क्षेत्रमा पुन स्थापना गरेमा पनि उनीहरूको तनाव कम गर्न सकिन्छ ।

कोरोना सङ्क्रमणका कारण कृषि, पशुपक्षी पालन तथा औषधिको बाहेक अन्य पेसा तथा व्यवसाय सङ्कटमा परेका छन् । सरकारले बेरोजगार युवालाई उत्पादन, वितरण तथा डिजिटल व्यवसायबारे सहजीकरण गरेमा युवाहरूमा तनाव कम हुन्छ । व्यवसाय तथा रोजगारी सङ्कटमा परेमा सरकारले सहयोग गर्छ भन्ने आत्मविश्वास आम नागरिकका स्थापित हुन्छ ।

मनोविद् गोपाल ढकालसँग गरेको कुराकानीमा आधारित


कस्तो लाग्यो ?

यो पनि