बैशाख २१, २०८१, शुक्रबार
               

सस्तोमा सुनको सपना देखाएर यसरी भयो काठमाडौंमा लाखौं लुटपाट

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सस्तोमा सुन बेच्ने प्रलोभन देखाएर एक समूहले एक व्यक्तिमाथि लुटपाट गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका–११ कपनमा उदयपुर चौदण्डीका निराहाङ राईमाथि लुटपाट भएको प्रहरीले जनाएको छ ।

५-६ जनाको लुटेरा समूहले 'आफूहरुसँग सुन रहेको र उक्त सुन सस्तो मूल्यमा बेच्ने' भनेर निराहाङलाई प्रलोभनमा पारे । उनीहरुले साथमा भएको एउटा टुक्रा सुन समेत देखाए ।

सस्तो मूल्यमा सुन पाइने भएपछि निराहाङले सुन किन्ने निर्णय गरे । लुटेरा समूहले निराहाङलाई सुन खरिद गर्नका लागि 'कपनस्थित आनीगुम्बा नजिकै आउन' भने ।

बिहीबार बेलुकी निराहाङ पैसा बोकेर उनीहरुले बोलाएको स्थानमा पुगे । तर लुटेरा समूहले सुन बेच्ने योजना नभइ निराहाङको पैसा लुट्ने योजना बनाएका थिए । त्यसैको लागि उनीहरुले सुनसान ठाउँमा निराहाङलाई बोलाएका थिए ।

आनीगुम्बा नजिकैबाट उक्त समूहले निराहाङसँग रहेको १३ लाख ५० हजार रुपैयाँ लुटेर फरार भए । निराहाङले पैसा राखेको झोला उनीहरुले खोसेर फरार भएका थिए । 

आफूमाथि लुटपाट भएपछि उनी प्रहरीसमक्ष पुगे । प्रहरीले लुटेरा समूहको खोजी गर्यो । 

सो समूहका मुख्य योजनाकार रुवेन लामासहित पाँच जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो । 

अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले लुटपाटमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, सिन्धुपाल्चोक जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो र सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले जानकारी दिए । 

लुटेको पैसाले हाल मकलबारी बस्दै आएका सिन्धुपाल्चोक जुगलका मेखबहादुरले पल्सर मोटरसाइकल किनेको प्रहरीले जानकारी दिएको छ । 

लुटपाटमा प्रयोग भएको बा २४ प २८६७ नम्बरको पल्सर मोटरसाइकल पनि प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रहरी अनुसन्धानबाट सो समूहले गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटीस्थित रुपा गुरुङको घरमा समेत चोरी गरेको खुलेको छ । रुपाको घरमा चोरी गरेर लुकाई राखेको चार लाख ६३ हजार सहित उनीहरुको डेरा (कोठा) बाट आठ लाख सात हजार पाँच सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

लुटपाटमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३२ वर्षीय सुजन बिक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि