असोज ०६, २०८१, आइतबार
               

ढोरपाटन बाढी : ११ जलविद्युत् आयोजना क्षति

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । बुधबार राति भुजीखोलामा आएको बाढीले ११ लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ ।

मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार अवरुद्ध भएको छ । सञ्चार सेवा विच्छेद हुँदा बेलैमा जानकारी लिनदिन र समन्वयमा कठिनाइको स्थिति छ । उद्धारकर्ता र सहयताकर्मीसँग पनि सम्पर्क स्थापित हुन सकेको छैन । विपद् स्थलमा नपुगेसम्म बाढी प्रभावितका भोगाइ र पीडा बाहिर आउन सकेका छैनन् ।

लघुजलविद्युत् आयोजनामा क्षति पुग्दा वडा नं. १, २, ५, ६, ७, ८ र ९ अन्धकारमय बनेको नगर उपप्रमुख करमती पुनले बताइन्- “भुजीखोलाका धेरैजसो आयोजनामा क्षति पुगेको छ”, उनले भनिन्, “बिजुली नहुँदा उद्धार, व्यवस्थापनलगायतका काममा समस्या भइरहेको छ ।” क्षति पुगेका आयोजनामध्ये केही बृहत र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थिति छ ।

उनका अनुसार विद्युत् सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ । केन्द्रीय विद्युतीकरण नभएका कारण त्यस क्षेत्रका सर्वसाधारण लघु जलविद्युत‍्का भरमा छन् । लामो समय विद्युत् अवरुद्ध भएपछि मोबाइल सेवा पनि प्रभावित हुने गर्छ । ब्याट्रीले केही घण्टा मात्र थेगे पनि त्यसपछि टावर बन्द हुन्छ । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले वडा नं. ७ बोबाङ र ९ ढोरपाटनमा रहेको टावरमा समस्या आएको बताए-“बोबाङ गाउँसम्म त मोबाइल लाग्छ, त्योभन्दा भने सम्पर्क टुटेको छ”, उनले भने, “दुवै टावरमा सौर्य ऊर्जा जडानको तयारी छ, सडक खुल्नासाथ हामी सामान लगेर काम थाल्छौँ ।” 

बाढीले बुर्तिबाङ–ढोरपाटन सडक ठाउँठाउँमा क्षतविक्षत पारेको छ । सडक अवरुद्ध हुँदा बाढी प्रभावितलाई राहत सामग्री पुर्‍याउनसमेत कठिनाइ भइरहेको छ । अहिले त्यस क्षेत्रमा पुग्न दोगाडीबाट झण्डै तीन घण्टा पैदल हिँड्नुपर्छ । बाढीले सबैभन्दा बढी वडा नं. ९ मा क्षति पुर्‍याएको छ ।

बाढीमा परी १६ जनाको मृत्यु भएको छ । बाइस जना अझै बेपत्ता छन् । बाढीबाट ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको छ । एक स्वास्थ्यचौकी भवन, दुई विद्यालय, ११  झोलुङ्गे, पाँच  ढलान र दश काठे पुलमा क्षति पुगेको जनाइएको छ  ।


कस्तो लाग्यो ?

यो पनि