बैशाख २१, २०८१, शुक्रबार
               

देउवाविरुद्ध अनशन बस्ने पौडेल पक्षको चेतावनी : दबाब दिन भर्चुअल मिटिङ बोलाइयो

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयनलाई निरन्तरता दिएपछि रुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफूनिकट केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बोलाएको छ ।

केन्द्रीय सदस्यहरुको जुम मिटिङबाट निर्णय फिर्ताको लागि सभापति देउवालाई दबाब दिने रणनीति बनाउने नेताहरुले बताएका छन् ।केन्द्रीय सदस्य गुरुराज घिमिरेले आज दबाबमूलक कार्यक्रम गर्नेबारे छलफल हुने बताए । ‘विधिको उल्लंघन गरेकाले सुरुमा निर्णय सच्याउन अल्टिमेटम दिने, निर्णय नसच्चिए धर्ना र अनशन बस्नेसम्मको तयारी गरिएको छ,’ घिमिरेले भने ।

सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा ९६ जनालाई मनोनयन गरेका थिए । देउवाले हालसम्म २० वटा विभागमा करिब ९ सय नेता, कार्यकर्ताहरुलाई मनोनयन गरेका छन् । यी मनोनयन एकलौटी भएको भन्दै पौडेल पक्षले विरोध गर्दै आएको छ ।

विगतमा सुशील कोइराला पार्टी सभापति हुँदा देउवाले गलत काम भएको भन्दै धर्ना बसेको र अल्टिमेटम दिएको स्मरण गर्दै घिमिरेले भने, ‘शेरबहादुर दाइ हाम्रो पार्टी सभापति, संरक्षक, अभिभावक हुनुहुन्छ । हामी उहाँका अशल अनुयायी हौं, उहाँ पार्टी सभापति नहुँदा जुन बाटो खन्नु भएको थियो, हामीले अहिले शेरबहादुर दाइकै बाटोलाई अनुशरण गर्दैछौं ।’

पौडेल पक्षले विभाग गठन, क्रियाशील सदस्यता वितरण र भ्रातृसंस्थाको कार्यकाल थपका विषयमा असन्तुष्टि जनाएको छ । महाधिवेशनको आचारसंहिता र विधान विपरीत विभागहरु गठन गरिएको भन्दै पौडेल पक्षले तिनलाई खारेज गर्न माग गर्दै आएको छ ।

 

यो पनि