जेठ ०१, २०८१, मंगलबार
               

लकडाउन र निषेधाज्ञामा पनि रोकिएन मानव बेचबिखन

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

नेपालगञ्ज । लकडाउन र निषेधाज्ञाको समयमा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना भएको पाइएको छ । लकडाउनमा १७ जना युवतीको खोजतलासका लागि निवेदन परेपछि यस्तो पुष्टि भएको हो ।

माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांकअनुसार, चैत्र ११ गतेदेखिको बन्दाबन्दीमा बाँकेबाट १७ जना युवती हराएका छन् । उनीहरुले घरपरिवारले खोजतलासका लागि निवेदन दिएका थिए ।

१७ मध्येमा पाँचजना भेटिएको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए । उनका अनुसार, एक महिलाले दुई किशोरीलाई राम्रो काम लगाइदिन्छु भन्दै काठमाडौं पुर्‍याएकी थिइन् ।

बन्दाबन्दीले सवारी साधन नचलेको, एक जिल्लाबाट अर्को जिल्लामा कठिनाइ भइरहेको बेलामा युवतीलाई राम्रो कामको बहानामा जोखिमपूर्ण यात्रामा लगिएको पाइएको हो ।

माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाले विगतमा जसरी भारत तथा तेस्रो मुलुक नै पुर्‍याउन नसकेपनि दलालले किशोरीहरुलाई आन्तरिक बेचबिखनको चपेटामा पारेको बताए । उनले भने, ‘बन्दाबन्दीमा आन्तरिक बेचबिखनको खतरा बढेको छ ।’

बन्दाबन्दीले बेरोजगारको समस्या बढाएको छ । दलाललाई प्रलोभनमा पार्न सजिलो भएको छ । बन्दाबन्दीमा हराएका युवतीहरुले फोन र सामाजिक सञ्जालको व्यापक प्रयोग गरेको पाइएको छ ।

यो वर्ष बाँके नाकाबाट ५ सय ८५ जना हराएको निवेदन परेको छ । त्यसमा २ सय ८० जना फेला परेका छन् । यो तथ्यांक विगतको भन्दा कम हो । चैत्र महिनापछि भारत तथा तेस्रो मुलुक जान नपाएकाले जोखिमपूर्ण यात्रा गर्ने र हराउनेको संख्यामा कमी देखिएको छ ।

माइती नेपाल, नेपालगञ्जले एक वर्षमा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा निस्केका ५ सय ७७ जनालाई घर फिर्ता पठाएको छ । 


कस्तो लाग्यो ?

यो पनि