असोज ०६, २०८१, आइतबार
               

कोरोना सङ्क्रमणबाट थप आठको ज्यान गयाे

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमणबाट थप आठजनाको ज्यान गएको छ । चितवन, पर्सा, र सुनसरीमा गरी आठजनाको ज्यान गएको हो । 

चितवनको भरतपुर अस्पतालमा गएराति ज्यान गुमाएका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मृतक तीनै जनाको स्वाब परीक्षण गर्दा कोरोना देखिएको अस्पताले जनाएको छ ।

ज्यान गएकामध्ये ५५ र १८ वर्षका महिला र ६५ वर्षका पुरुष छन् । उनीहरु सबै चितवनका हुन् । मृतक सबै अस्पताल चहार्दा चहार्दै भरतपुर अस्पताल पुगेका थिए । कडा निमोनिया देखिएका उनीहरुको अस्पताल पुगेको केही समयमै ज्यान गएको भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले बताए ।

चितवनको चितवन मेडिकल कलेजमा अर्का एकजना कोरोना संक्रमितको पनि ज्यान गएको छ । हेटौँडा उपमहानगरपालिका-१५ का ५८ वर्षीय पुरुषको अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको हो । यस्तै, पर्साको नारायणी अस्थायी कोभिड अस्पतालमा थप तीन जनाको ज्यान गएको छ । 

अस्पतालमा उपचार गराइरहेका पहिचान नखुलेका एक पुरुष, बाराको कोल्भी नगरपालिकाका ६० वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का ५३ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।

यस्तै, सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका सिरहाका एक जना संक्रमितको ज्यान गएको छ । एक हप्ता अघि अस्पताल धर्ना भएर आईसीयूमा उपचार गराइरहेका मिर्चैया नगरपालिका-६ का ६५ वर्षीय पुरुषको पनि ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि