जेठ ०६, २०८१, आइतबार
               

देवघाटमा छुट्टै कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने स्थल बनाइयो

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

भरतपुर । चितवनमा कोरोना संक्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको जङ्गल क्षेत्रलाई संक्रमित शव व्यवस्थापन स्थल बनाइएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार मानव बस्तीभन्दा टाढाको जङ्गललाई संक्रमित शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । ‘जङ्गलभित्र जहाँ मान्छेको आवतजावत र प्रवेश हुँदैन, त्यस क्षेत्रलाई संक्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याएर बोर्ड टाँसेका छौँ’, उनले भने ।

उक्त क्षेत्रमा अहिले पनि नेपाली सेनाले संक्रमितहरुको शव गाडेर व्यवस्थापन गर्दै आइरहेको छ । चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका १२ सङ्क्रमितको शव सोही क्षेत्रमा नै व्यवस्थापन गरिसकिएको छ । देवघाटमा शव व्यववस्थापन हुँदै आएको भन्दा छुट्टै स्थानमा संक्रमितको शव व्यवस्थापन भइरहेको देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिए ।

उनले शव व्यवस्थापनमा समस्या नहोस् भन्नको लागि समितिले आवश्यक सहजीकरण गरिरहेको बताए ।देवघाटधामको शवदाह स्थलमा यसअघिका वर्षमा भन्दा कम शव आउने गरेको निर्देशक घिमिरेले बताए । ‘अहिले दैनिक पाँचदेखि छ वटा शव आउने गर्छ’, उनले भने, ‘यसअघि दैनिक आठदेखि १० वटासम्म शवदाह हुने गरेको थियो ।’

उनले कोरोनाका कारण भएको लकडाउन र निषेधाज्ञाले सवारी दुर्घटना कम हुँदा मृत्यु हुनेको सङ्ख्यामा कमी आएको बताए । संक्रमित बाहेकको शवदाह स्थलमा २५ जनाभन्दा धेरै नजान क्षेत्र विकास समितिले अनुरोध गरेको छ ।

यस्तै समितिले बाहिरी मान्छेलाई शवदाह स्थलबाट देवघाटका अन्य क्षेत्रमा नजान र सिधै फर्कनसमेत अनुरोध गरेको छ । देवघाटमा चितवन, तनहुँ, नवलपरासी, रुपन्देही, हेटौँडा, धादिङलगायतका जिल्लाबाट शवदाहको लागि ल्याउने गरिन्छ । 


कस्तो लाग्यो ?

यो पनि