असोज ०५, २०८१, शनिबार
               

पोखरामा एक घरको ताल्चा नै फोरेर ठूलो धनमाल चोरी गर्ने श्रीमान् र श्रीमती पक्राउ

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

पोखरा । कास्की प्रहरीले एक घरको चाबी नै फोरेर ठूलो धनमाल चोरी गर्ने श्रीमान् र श्रीमतीलाई पोखराबाट पक्राउ गरेको छ । पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट गत भदौ १० गते झण्डै दुई लाख रुपैयाँ नगद र सामग्री चोरी गरेको दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पोखरा–१२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया रोशनी थापामगर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । लामिछानेले वाइरिङको काम गर्दै आएका थिए ।
 
प्रवक्ता हमालका अनुसार अष्ट्रेलिया बस्दै आएका ठाकुरप्रसाद पोखरेलको दुईतले घरबाट ती दम्पतीले घरको चाबी फोरेर टिभी, प्रेसरकुकर लगायतका भाँडा, लत्ताकपडा र एक लाख ९५ हजार ५५० रुपैयाँ चोरी गरेका थिए । उक्त घटनालगत्तै अनुसन्धानमा खटिएको वडा प्रहरी कार्यालय रामबजारसहित जिल्लाको टोलीले उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ४२ इन्चको एलजी स्मार्ट टिभी एक थान, क्यानोन क्यामरा एक थान, मोबाइल एक थान, लत्ताकपडा र भाँडावर्तन बरामद गरेको छ । पक्राउ पर्ने दम्पतीलाई चोरी तथा डाँका कसुरमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थल र चोरीको प्रकृति हेर्दा चोरीमा अन्यको पनि संलग्नता हुनसक्ने भन्दै सूक्ष्मरूपमा अनुसन्धान अगाडि बढाइएको प्रवत्ता हमालले बताए ।
 


कस्तो लाग्यो ?

यो पनि