जेठ ०६, २०८१, आइतबार
               

५२ हजार नेपाली श्रमिक फर्किए, अझै कति फर्कन चाहन्छन् ?
व्यवसायी भन्छन्- ‘नियमित उडान छिटो खोल्नुपर्‍यो’

ADVERTISEMENT

चार्टड उडान रोकिएपछि दुबई विमानस्थलमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए-३३० जहाज त्यसतर्फ उडेको छ । आजै दुबईबाट २ सय ६० भन्दा बढी यात्रु लिएर वाइडबडी साँझ काठमाडौं आइपुग्ने छ ।

अहिलेसम्म पटक-पटकको चार्टड उडानबाट ४० हजार बढी नेपाली स्वदेश फर्किइसकेकाे वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ । मलेसिया, दुबई, साउदी अरब, कतार, ओमान, कुवेतलगायत खाडी मुलुकबाट मात्रै ३० हजारभन्दा बढी नेपाली फर्कने मनसायमा रहेका सङ्घका उपाध्यक्ष कमल तामाङ बताउँछन् ।

मलेसिया र खाडी मुलुकमा नेपालीको जनघनत्व बढी छ तर सरकारले ती देशबाट कामदार फर्काउन चाहेको देखिँदैन । विदेशमा रहेका नेपालीलाई जतिसक्दो छिटो स्वदेश फर्काउनुपर्ने हाे । तर आफूहरुलाई बेवास्ता गरेको भन्दै खाडी मुलुकमा कार्यरत नेपाली कामदार चिन्तित भएका छन् ।

अहिलेसम्म वैदेशिक रोजगारीमा खाडी मुलुक गएकाहरू मात्रै ३० हजारभन्दा बढी स्वदेश फर्किसकेका छन् । अरू देशमा गरी जम्मा ५२ हजार नेपाली कामदार स्वदेश फर्किएकाे सरकारी तथ्याङ्क छ । कोरोमा महामारीले कम्पनी बन्द भएका वा काम गर्न असहज भएकाहरू यसअघिका चार्टड उडानबाट फर्किसकेकाले अब धेरै अप्ठेरो नपरेको वा चाडबाडमा घर फर्कन चाहनेहरू मात्र बाँकी रहेको उपाध्यक्ष तामाङले बताए । तामाङ भन्छन्, ‘बैदेशिकक रोजगारीमा गएका मानिसहरू फर्कने यो सिजन नै हो, तर कोरोनाकै कारण विभिन्न समस्या भएकाहरू फकर्नैपर्ने अवस्थाका पनि धेरै थिए, यसकारण खाडी मुलुकबाट मात्र ३० हजारभन्दा बढी मानिस तत्काल फर्कनुपर्ने अवस्थामा छन् ।’ 

स्वदेश फर्कन चाहेका कामदारलाई उद्धारका लागि आफूहरूले पहल गरिरहेको बताउँदै तामाङले नियमित हवाई उडानको व्यवस्था सरकारले गर्नुपर्ने बताए । ‘कामदारलाई स्वदेश ल्याएपछि (एयरपोर्टमा झरेपछि) घरसम्म कसरी लैजाने भन्ने व्यवस्थापन गर्न सरकारी स्तरको व्यवस्थापन समिति बनाइनुपर्छ, अब विदेशमै क्वारेन्नटाइनमा बसेर फर्काउने भएपछि त्यहाँ स्थित दूतावासमा समन्वय गरेर काम गर्नुपर्छ’ उपाध्यक्ष तामाङ भन्छन्, ‘लामो समययता अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विभिन्न देशमा रहेका कामदार आउन नसक्दा समस्या भएको छ, सधैंभरी आफ्नो देश आउन नदिनु पनि समाधान होइन, अझ विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याउन सकिएको छैन, समस्या समाधानको लागि सरकारले वातावरण तयार गर्नुपर्छ ।’

खाडी मुलुकबाहेक दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अष्टेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट धेरै नेपाली स्वदेश आउन चाहेका छन् । तथ्याङ्क अनुसार करिब २३ लाख ६५ हजार ८७५ जना नेपाली विश्वका विभिन्न भागमा विभिन्न प्रयोजनमा पुगेको देखाउँछ । त्यसमध्ये अन्य मुलुकमा भिजिट भिसा बाहेक १३ लाख ४८ हजार ८७२ जना कामको लागि अनुमति लिएर गएकाहरू छन् । वैदेशिक रोजगारीमा रहेका करिब ४ लाख ०७ हजार नेपाली स्वदेश फर्किन चाहेका थिए । 

अहिलेसम्मको पटक-पटकको चार्टर उडानबाट यी मध्ये करिब ५२ हजार कामदार स्वदेश फर्किएका छन् । सरकारले गरेको प्रारम्भिक अध्ययनमा ठूलो सङ्ख्यामा नेपालीहरू अन्तर्राष्ट्रिय उडान खुल्ने प्रतीक्षामा छन् । तर अहिले कोरोनाका कारण पहिला असहज भएका कतिपय देशमा काम गर्ने वातावरण सहज भैसकेका छन् ।

यसैले पहिला घर फर्कन चाहेका केही कामदार उतै बस्न चाहन्छन् । भिसा अवधि सकिएका, अवैध रूपमा रहेका, आममाफी पाएका र अन्य कारणले अलपत्र परेकाहरू अधिकांश नेपाली कामदारलाई स्वदेश ल्याइसकिएको छ । गर्भवती, विभिन्न स्वास्थ्य समस्यामा भोगिरहेका बिरामी, अवैध कामदार भएकाले सम्बन्धित देशले फिर्ता पठाउन ताकेता गरेपछि नेपालले फिर्ता ल्याएको थियो ।

तर, बाँकी ठुलो सङ्ख्यामा रहेका कामदारहरूलाई स्वदेश फर्काउनेबारे सरकारले कुनै ठोस निर्णय लिन सकेको छैन । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ सबैलाई एकै पटक उद्धार गरेर ल्याउन सम्भव नहुने बताउँछन् ।  ‘यो कामका लागि राज्यको ठूलो साधन, स्रोत लगाउनुपर्ने हुन्छ भने उद्धारपछिको बन्दोबस्त गर्न पनि निकै चुनौतीपूर्ण छ,’ उनले भने ।

कसरी उद्धार गर्ने ?, कहाँ क्वारेनटाइनमा राख्ने ?, त्यसको खर्च कसरी जुटाउने ?, कामदारलाई सम्बन्धित घरसम्म कसरी सुरक्षित रूपमा पुर्‍याउने ? भन्ने योजना बनाउन ढिला भैसकेको छ । उनीहरूलाई पारिवारिक तथा सामाजिक रूपमा पुनर्स्थापनाको काम कसरी गर्ने ? भन्ने विषयमा सरकारले अझै धेरै तयारी गर्नुपर्ने विज्ञहरू बताउँछन् । 

कोरोनाको जोखिम घट्दै

विदेशमा रहेका नेपाली विश्वव्यापी महामारीको रुप लिइरहेकाे कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मुक्त हुँदै गएका छन् । गैर आवासीय नेपाली सङ्घका अनुसार विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार यो साता संक्रमणका कारण ज्यान गुमाउने गैर आवासीय नेपालीको सङ्ख्या शून्य छ । विदेशमा कोरोनाबाट १ सय ९१ जनाले ज्यान गुमाएका छन् ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य भन्दा केही बढेको छ । अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून हुँदै गएको संघको कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि