जेठ ०६, २०८१, आइतबार
               

निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं सुनसान, महिलाहरू घरघरमै मनाउँदै तीज

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

निषेधाज्ञाको दोस्रो दिन शुक्रबार पनि काठमडौं उपत्यका सुनसान बनेको छ । अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । महिलाहरू महान् पर्व हरितालिका तीजमा निषेधाज्ञाका कारण मन्दिर गएका छैनन् ।

कोरोना महामारीका कारण यसअघि पनि मन्दिर खुलेका थिएनन् । पशुपतिनाथलगायत मन्दिर बन्द भए पनि दर्शनार्थीहरु गेटमै पूजा गर्ने गर्थे । सरकारले पुन: निषेधाज्ञाको घोषणा गरेसँगै उपत्यकामा चकमन्न बनेको छ । जसका कारण महिलाहरूले यो वर्षको हरितालिका तीज घरघरमै मनाइरहेका छन् । हरितालिकाको अवसरमा भीडभाड हुने मन्दिर यस वर्ष सुनसान  छन् । 

कुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला हुन भीडभाड गर्न, सभा जुलुस गर्नमा निषेध गरिएपछि यो वर्ष मन्दिरहरु सुनसान बनेका हुन् । परम्परागत र दैनिक रुपमा हुँदै आएका र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट बन्द गरिएको छ । 

सडकमा अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसधन भने चलिरहेका छन् । बिहीबार निषेधाज्ञाको पहिलो दिन बैङ्कका कर्मचारी सवारीसधान रोकिए पनि शुक्रबाट चल्न दिइएको छ । न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सेवा प्रवाह भइरहेका छन् ।

सवारीसाधन सञ्चालनका लागि पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सारका सवारीसाधन चलिरहेका छन् । क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारीसाधन पनि सञ्चालन भइरहेको छ ।

अत्यावश्यक कामका लागि घरबाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । उक्त आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ । 

निषेधाज्ञा आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुनेछ । यो समयमा अत्यावश्यकबाहेक हिँडडुलमा रोक लगाइएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उक्त आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी भएको हो । 

फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी संकलन, होटल रेष्टुराँ, बैंकिङ सेवालगायत निकायलाई भर्चुअल वा विद्युतीय माध्यमाबाट सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ । तर, धेरैले त्यस्तो व्यवस्था मिलाएका छैनन् । अघिकाशंको सेवा बन्द छ ।


कस्तो लाग्यो ?

यो पनि