बैशाख १५, २०८१, शनिबार
               

जब सिम्रनले आफू कोराेना संक्रमित भएको थाहा पाइन्

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

चितवन । भरतपुर सेन्ट्रल अस्पतालमा विगत साढे दुई वर्षदेखि कार्यरत नर्स सिम्रन तिवारीलाई कोरोना संक्रमण भएको छ । 

उनी अहिले आइसोलेसनमा छिन् । कोरोना संक्रमितलाई दुर्व्यवहार नगर्न सबैलाई उनले आग्रह गरेकी छिन् । साथै संक्रमितहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले आफू छिट्टै निको भएर फेरि काममा फर्किने बताएकी छिन् । 

विश्वभर नै तीव्र रुपमा कोरोना संक्रमण फैलिरहेको समयमा सेवा नै धर्म हो भनेर निरन्तर आफ्नो कर्तव्य बोध गर्दै अघि बढ्ने सिम्रनले प्रण गरेकी छिन् ।

आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि यस्तो छ उनको अनुभव:

काम गर्दैगर्दा कोरोना संक्रमित भएछु, स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद ।

म एक नर्स । म आफ्नो पेसामा गर्व गर्छु ।

मलाइ थाहा छ कि म केवल सर्टिफिकेटका लागि मात्र पढेकी होइन । जस्तोसुकै अवस्थामा पनि बिरामीको सेवा गर्न सकुँ र गर्छु भनेर नर्स पेसा अंगालेकी हुँ । 

आफ्ना व्यक्तिगत कुराहरुलाइ त्यागेर निरन्तर रुपमा बिरामीको सेवामा लागिरहेको पनि केही वर्ष भइसकेछ । आफ्नो काम गर्दैगर्दा यो अवस्था आउँछ होला भन्ने सोचेको थिइनँ । तर एक्कासी संसारलाइ नै तर्साउने गरि कोरोना भाइरस फैलियो । कयौं देशहरुमा हजारौं नागरिकको ज्यान गयो । बिस्तारै अवस्था जटिल बन्दै गयो । बिस्तारै कोरोना संक्रमितहरु नेपालमा पनि देखिन थाले । 

तर कहिल्यै हतोत्साहित नभइ म निरन्तर आफ्नो कर्ममा लागिरहेँ । मैले सोचेँ कि, 'म एकजना नर्सले 'गाह्रो हुने भयो', म संक्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला ? भन्ने सोचेर अग्रजहरुको सल्लाह सुझाव ग्रहण गर्दै म काममा लागिरहेँ ।'

घरमा बुवा-आमा भाइ-बहिनीलाइ आफैले सम्झाएँ । बाबा ममी मैले समाजका लागि काम गर्नुपर्छ । म यतिखेर काम नगरी बस्ने हो भने मैले नर्स पेसा अंगालेको अर्थ हुँदैन । नआत्तिनु म सुरक्षित भएर बिरामीको सेवा गर्नेछु भनेर घर परिवारलाइ सम्झाउँदै आफ्नो कर्ममा लागिरहेँ ।

कयौं रात बाबा-ममी निदाउनुभएन कतै छोरी संक्रमित त हुने होइन भनेर । भोलि समाजले के भन्ला ? छिछी-दुरदुर गर्ला भन्ने चिन्तामा परिवार हुनुहुन्थ्यो । 

केही दिन अगाडि अस्पतालमा उपचार गराइरहनुभएका बिरामीमा कोरोना पोजेटिभ देखियो रे भन्ने सुनेँ । उहाँहरुलाइ सधैं हामीले रेखदेख गरिरहेका हुन्थ्यौँ । 

एक्कासी त्यस्तो खबर सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु । पछि आफूलाइ सम्हालेँ । त्यसपछि हामीलाई छुट्टै ठाउँमा राखियो । त्यसको पर्सीपल्ट म लगायत हामी साथीहरुको कोरोना परीक्षणका लागि स्वाब लगियो । नभन्दै हाम्रो रिपोर्ट पनि पोजेटिभ आयो । मलाई निकै तनाब भयो । कसरी घरमा भन्ने होला ? अब के हुने हो ? भन्ने प्रश्न मात्र मनमा घुमिरह्यो । पछि आफैले आफैलाइ सम्हालेँ । 

म आज आएर आफै कमजोर महसुस गरेँ भने मेरो परिवारलाइ झन् बढी चिन्ता हुन्छ । समाजलाइ चिन्ता पर्ला  । मैले मनोबल दह्रो बनाउँनुपर्छ भन्ने सोचेर अहिले आफ्नो मनोबल उच्च बनाएर मैले यो रोगलाइ परास्त गर्छु भन्ने आत्मविश्वास लिएकी छु । मलाई विश्वास छ म कोरोनालाई परास्त गर्छु पनि । 

आज मलाइ गर्व छ । म आत्तिएकी छैन । बिरामीको सेवा गर्दा, इमान्दारिताका साथ आफ्नो कर्म पूरा गर्दा म संक्रमित भएकी हुँ । हामी संक्रमितलाइ समाजले हेर्ने नजर राम्रो बनोस् । हामीले रहरले रोग (भाइरस) सारेका हैनौँ । आफ्नो जिम्मेवारी पूरा गर्दा यसतो भएको हो । पहिला नै हामी डराएर बिरामीको सेवा नगरेको भए बिरामीको अवस्था झन् के हुन्थ्यो ? 

सबैको सोच सकारात्मक बनोस् । संक्रमित नर्स, डाक्टर सुरक्षाकर्मी लगायत सबैजनालाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । 

हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने, हाम्रो हेरचाह गर्नुहुने अस्पताल प्रशासन, डाक्टर, नर्स, घरपरिवार, साथीभाइ, आफन्तजन तथा समाजका सबै नागरिकप्रति अस्पतालको बेडबाट धन्यवाद व्यक्त गर्दछु । सन्चो भएपछि उही मनोबलका साथ हजारौँ बिरामीको सेवा गर्नेछु किनकी मलाइ गर्व छ, नर्स हुनुमा ।

बाबा–मामु नआत्तिनु । हजुरको छोरी झन् मनोबल दह्रो बनाएर रोगलाइ परास्त गरेर कर्ममा फर्किन्छे । म हारेकी छैन । मेरो मनोबल झन्-झन् दह्रो भएको छ ।


कस्तो लाग्यो ?

यो पनि