असोज ०६, २०८१, आइतबार
               

प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

एक किशेरीलाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । १७ वर्षीया किशोरीलाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका-३ खरानीटार स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–२ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ । सुरुमा प्रलोभनमा पारेर उनलाई काठमाडौंको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको खुल्न आएको ब्युरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । त्यति गरेर मात्रै उनले चित्त बुझाएनन्, आफ्नो साथीमार्फत ट्याक्सी चढाई चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए । उनका सहयोगी भारतको एक नचिनेको पुरुषलाई किशोरी जिम्मा लगाएर फर्किएका थिए । 

भारतीय निज किशोरीलाई अश्लील भिडियो देखाई मानसिक यातना दिने गरेको र रकम तिरेर किनेको भन्दै  त्रासमा राखेर चरम यातना दिएको खुलेको छ । उनले बेलाबेलामा शारीरिक र मानसिक यातना दिँदै रोजगारी लगाइदिने बहानामा भारतका विभिन्न ठाउँमा लग्ने गरेको पीडितले बताएकी छन् ।

त्यही सिलसिलामा उनी पीडकको आँखा छलेर भाग्न सफल भई अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती नेपालीमार्फत  कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । एक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात् उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

एक वर्षअघि उक्त घटना भएको थियो । त्यसपछि  तामाङ फरार हुँदै आएका थिए । उनका सहयोगी भने फरार छन् । उनको खोजी जारी रहेको जनाइएको छ । अभियुक्त तामाङविरुद्ध साउन २९ मा नै ब्युरोमा कारवाही गरी पाउँ भनी जाहेरी परेको थियो । तामाङलाई ब्युरोको टोलीले यही भदौ १ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले आज  विज्ञप्तिमार्फत जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि