जेठ ०७, २०८१, सोमबार
               

कैदीबन्दीमा कोरोना संक्रमण, जिल्ला अस्पताल सिल

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

स्याङ्जा । जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड–१९ को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए । 

जबरजस्ती करणी मुद्दामा चार वर्षदेखि कारागारमा कैद सजाय भोग्दै आएका ६० वर्षीय एक कैदीको सोमबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएपछि उनको उपचार गराइएको जिल्ला अस्पतालसमेत सिल गरिएको हो ।

कैदीबन्दीलाई ज्वरो, रुघाखोकीका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । 

कैदीबन्दीका उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सम्पर्कमा आएका व्यक्तिको अहिले कन्ट्रयाक्ट ट्रेसिङ सुरु भएको छ । कारागारमा १५० कैदीबन्दी छन् । प्रहरीमा कोरोना संक्रमण देखिएपछि कारागारको सुरक्षासमेत नेपाली सेनाले गर्दै आएको छ ।  

प्रहरीमा कोरोना देखिएपछि कारागार भित्र आउजाउ गर्न बन्द गरिएको अवस्थामा पनि कोरोना संक्रमण देखिएकाले आफू अन्योलमा परेको जेलर चूडामणि भण्डारीले बताए ।

जिल्ला अस्पतालले आज सूचना जारी गर्दै अस्पतालमा उपचार गराइएका कारागारका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएकाले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यही भदौ ८ गतेसम्म अस्पताल शिल गर्ने निर्णय गरेकाले  सबै सेवा बन्द गरिएको जनाएको छ ।

कैदीबन्दीमा संक्रमण पुष्टि भएसंँगै  जिल्लामा संक्रमितको संख्या ३०४ पुगेको छ भने १७२ जना निको भएर घर फर्किएका छन् ।


कस्तो लाग्यो ?

यो पनि