असोज ०५, २०८१, शनिबार
               

स्वदेश फर्किनेले एक हप्ता राजधानीमा बस्नैपर्ने, रातको १० हजारसम्म तिर्नुपर्ने गरी तोकिए होटल

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

सरकारले विदेशबाट उद्धार उडानमार्फत स्वदेश फर्किने श्रमिकलाई एक हप्ता राजधानीमा बस्नैपर्ने बाध्यकारी नियम लगाएको छ ।

विदेशमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिकलाई नै तिराउने गरी तय गरिएका राजधानीका होटलको एक रातकाे मूल्य अधिकतम १० हजारसम्मका तोकिएको छ ।

वैदेशिक रोजगारीबाट फर्किने नेपाली श्रमिकले एक हप्ता होटलमा बस्नैपर्ने बाध्यात्मक नियम लगाएको सरकारले राजधानीका होटलको सूची तयार पारेको हो । जसमा एक रातको कम्तीमा ३ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पर्छ ।

विदेशबाट फर्किने नेपालीले ५ देखि ७ दिनसम्म काठमाडौंका होटलमा बस्नुपर्ने सरकारको पछिल्लो निर्णय छ ।

श्रमिक होटलमा बस्न तयार नभएकै कारण कोरोना संकट व्यवस्थापन समितिले तय भइसकेका उडान समेत स्थगित गर्न पत्र पठाएको छ । सीसीएमसीको पत्रपछि मंगलबार हुने भनिएका उडान समेत रोकिएका छन् ।

नेपालमा कोरोना संक्रमणदर अझ बढिरहेको भन्दै काठमाडौंमै कोरोना परीक्षण गरेर मात्रै जिल्ला पठाइने भएको छ । जसका लागि अब विदेशबाट फर्किने नागरिकले सरकारले तोकेका काठमाडौंका होटलमा आफ्नै खर्चमा बस्नुपर्ने छ ।

कोरोना परीक्षण गरी संक्रमण नभएको एकिन गरेपश्चात मात्र स्थानीय तहहरुमा तोकिएका क्वारेन्टाइनमा पठाउने व्यवस्था गरिएको छ ।

सरकारले तय गरेका होटलको सूचीमा टुरिस्ट स्टाण्डर्डदेखि, पाँचतारेसम्मका छन् । सांग्रिला होटल पनि सरकारी सूचीमा छ । जसमा बस्ने व्यक्तिले रातको १० हजार रुपैयाँ तिर्नु पर्नेछ ।

टुरिस्ट स्टाण्डर्डमा रातको ३ हजार प्रतिव्यक्ति, १ तारेमा ४ हजार, २ तारेमा ५ हजार, ३ तारेमा ६ हजार र ४ तारे होटलको मूल्य हरेक रात ८ हजार रुपैयाँ तोकिएको छ ।

५ तारे होटलको एउटा कोठामा २ जना बसेमा रातको १६ हजार रुपैयाँ कायम गरिएको छ । एउटै कोठामा दुई जना बसेमा थप शुल्क लाग्ने छ ।

 


कस्तो लाग्यो ?

यो पनि