असोज ०५, २०८१, शनिबार
               

अनलाइनबाट ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो । 

पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद दुई लाख ३० हजार पाउण्ड पठाएको अथवा ३ कराेड ५९ लाख ८३ हजार ५०० रुपैयाँ पठाएकाे छु भनी भन्सार र एक्सचेन्ज चार्ज बुझाउन भन्दै उक्त रकम ठगी गर्ने विदेशी नागरिक कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । 

‘कोस्टाले भन्सार छुट्याउनका लागि आवश्यक पीडित महिलासँग थप २० लाख रुपैयाँ मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो’, प्रवक्ता कार्कीले भने । पक्राउ गरिएका व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि ३७ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ । खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत प्रहरीले बरामद गरेको प्रवक्ता कार्कीले बताए । काेस्टा २०७६ फागुनमा नेपाल आएको प्रहरीले जनाएको छ । 

पक्राउ व्यक्तिसँग नेपाली तीन लाख १५ हजार ७४५ रुपैयाँ, अमेरिकन ९०० डलर, एटिएम कार्ड, ल्यापट एक थान, नक्कली नेपाली एक हजारका नोट ३ थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । पक्राउ व्यक्तिलाई जिल्ला अदालतको पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि