जेठ ०६, २०८१, आइतबार
               

‘हटस्पट’ काठमाडौं, अस्पतालले सङ्क्रमितको चाप धान्न सकेन
१९ सय ४७ सङ्क्रमितमा तीन सय मात्र अस्पतालमा

ADVERTISEMENT

 

दैनिक डेढ सयभन्दा बढीमा संक्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १९ सय नाघ्यो, गृहमन्त्रालय भन्छन् –समुदायस्तरमा कोरोना फैलियो, स्थिति भयावह छ ।

सङ्घीय राजधानी काठमाडौं उपत्यकामा  कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालको स्थिति भयावह तथा त्रासदीपूर्ण रहेको बताएको छ ।

काठमाडौं उपत्यकामा आइतबारसम्म १९ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ललितपुरमा दुई सय काठमाडौंमा करिब १५ सय र भक्तपुरमा दुई सयमा कोरोना सङ्क्रण पुष्टि भएको छ । आइतबार पछिल्लो समयकै सबैभन्दा बढी सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा एक सय ७२ जना कोरोना सङ्क्रमित भेटिएका हुन् ।

नेपालभर कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार ६६० पुग्दा काठमाडौंमा दुई हजारको नजिक सङ्क्रमित देखिएका हुन् ।

पछिल्लो २४ घण्टामा मुलुकभर थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा नयाँ हटस्पटको रूपमा देखिएको काठमाडौँ उपत्यकामा धेरै सङ्क्रमित देखिए । २४ घण्टामा १२ हजार २४७ जनाको परीक्षण गरिएको छ । जसमा सबैभन्दा बढी काठमाडौं उपत्यकामै गरिएको थियो । 

यसअघि शनिबार काठमाडौं उपत्यकामा ९८ जना सङ्क्रमित थपिएका थिए । अघिल्लो दिन  शुक्रबार काठमाडौं उपत्यकामा एक सय १८ कोरोना सङ्क्रमित भेटिएका थिए । बिहीबार काठमाडौं उपत्यकामा थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै, बुधबार काठमाडौंमा एक सय ३८ जनामा संक्रमण पुष्टि भएको थियो भने मङ्गलबार काठमाडौं उपत्यकाभर एक सय ३२ जना कोरोना सङ्क्रमित थपिएका थिए ।

सतर्कता अपनाउन आग्रह

गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारी सङ्घीय राजधानी काठमाडौं उपत्यकाको अहिलेको स्थिति भयावह तथा त्रासदीपूर्ण रहेको बताउँछन् । ‘समुदायस्तरमा कोरोना फैलियो, स्थिति भयावह छ, सङ्क्रमितको सम्पर्कमा आएका सबैको सम्पर्कमा नआउँदा परीक्षण सबैमा हुन सकेको छैन,’ उनले भने, ‘यो अवस्थामा सर्वसाधारण आफैँले सचेतता अपनाउने हो ।’

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरले पटक–पटक सूचना निकालेर सचेतता अपनाउन आग्रह गर्दै आएका छन् । केही सातायता सटडाउन तथा जोर-बिजोर प्रणाली अपनाइएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि यस्तो आग्रह गरिएको हो । धेरै भीडभाड हुने सरकारी कार्यालयका सेवा स्थगन गरिएको छ ।

‘लकडाउनसँगै परीक्षणको दायरा बढाउने, कन्टयाक्ट ट्रेसिङ गर्ने, अर्को रेन्डम ट्रेसिङ गर्ने गरिएको छ,’ अधिकारी भन्छन्, ‘अवस्था हेरेर एरिया सिल गर्ने र सिल गरेका एरियाका सबैको परीक्षण पनि गरिँदै आइएको छ।’


जनस्तरमा लापरबाहीका मुख्य कारण 

आफ्ना साथीहरूमा कोरोना छैन, उनीहरूसँग बस्दा बोल्दा माक्स लगाउनुपर्दैन वा दूरी कायम गर्नुपर्दैन भन्ने भावनाका कारण धेरै सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम बताउँछन् ।

‘म बाहिरबाट आएको होइन, मलाई संक्रमण भए पनि रोगप्रतिरोधी क्षमता छ भनेर लापरबाही गर्ने मनस्थितिले काठमाडौंमा भयावह भएको हो, ’ गौतम भन्छन्,  ‘म आफूबाहेक अरू सबैलाई कोरोना संक्रमण छ भनेर सतर्कताका साथ सावधानी अपनाएमा आफू र अरूलाई जोगाउन सकिन्छ ।’ 

अहिले सुरक्षाकर्मीलाई धेरै संक्रमण भएको बताउँदै उनले यस्तै गतिमा सुरक्षाकर्मीमा संक्रमण बढेमा सेवा दिने सुरक्षाकर्मीहरूको कमी हुने चेतावनी दिए ।

‘काठमाडौंमा सङ्क्रमित सङ्ख्याको तुलनामा एकदमै थोरै आइसियु र भेन्टिलेटर छन्,’ प्रवक्ता गौतम भन्छन् ‘दिन प्रतिदिन सङ्क्रमित झन्डै डेढ सयको हाराहारीमा थपिइरहेका छन् । स्वास्थ्य सेवाको अभावमा उनीहरूलाई उच्च जोखिम भएको छ । अहिलेसम्म सक्दो व्यवस्थापन गरेका छौँ ।’


 

झन्डै १७६ सय संक्रमति अस्पताल बाहिरै

काठमाडौं उपत्यकामा करिब १९ सय ४७ सङ्क्रमितमध्ये झन्डै जम्मा तीन सयजना मात्रै अस्पतालमा छन् । टेकु अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी अस्पताललगायतमा करिब तीन सय संक्रिमित उपचाररत छन् ।

सङ्क्रमितको सङ्ख्या बढेपछि सरकारले लक्षण नदेखिएकालाई घरमै राख्न थालेको हो । अस्पतालमा आइसोलेसन बेड, अक्सिजन र भेन्टिलेटरको अभाव हुने भएकाले जटिल सङ्क्रमितलाई मात्र अस्पतालमा राख्न थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लक्षण देखिएका वा स्वास्थ्य अवस्थामा समस्या देखिएका संक्रमतिलाई मात्रै अस्पतालमा राखिएको छ । काठमाडौं उपत्यकामा अस्पतालको क्षमताभन्दा धेरै कोरोना सङ्क्रमित भएकाले संक्रमतिलाई घरमै राख्नुपरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि