मंसिर ०७, २०८१, शुक्रबार
               

नेपालमा कोरोना कहरः एक सातामा ३५ जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो एक सातामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ३५ जनाको ज्यान गएको छ । साउन २२ देखि २८ गतेसम्म ३५ जनाको ज्यान गएको हो । विश्वका अरू देशका  तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको हो ।

कोभिड-१९ कोरोनाको दोस्रो संक्रमित भेटिएपछि चैत्र ११ गतेदेखि नेपालमा लकडाउन गरिएको थियो । त्यसपछि  फाट्टफुट्ट रूपमा मानिसको मृत्यु भएको थियो ।  साउन लागेपछि दैनिक रूपमा तीन जनाको ज्यान थालेको छ । हुँदा हुँदै साउनको अन्तिमतिर एकै दिन आठ जनासम्मको ज्यान गएको छ । 

अघिल्लो बिहीबारदेखि २८ गते बिहीबारसम्म आठ दिनमा मात्रै कोभिड-१९ संक्रमित ३५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क  छ । त्यसपछि बिहीबार थप ३ जनाको ज्यान गएको  छ । याेसँगै अहिलेसम्म ९५ जना संक्रमितको ज्यान गइसकेको छ । 

विश्वको तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् ।

‘विश्वको तुलनामा नेपालको मृत्युदर यसअघि अत्यन्त न्यून थियो, तर साउन अन्तपछि बढ्दो क्रममा छ, जति धेरैलाई संक्रमण भयो मृत्युदर उति धेरै बढेको छ,’ प्रवक्ता गौतम भन्छन्, ‘ज्यान गएकामध्ये ५० प्रतिशत मधुमेह, अर्बुदरोग, फोक्सो र मिर्गौला रोगी रहेको र ५० प्रतिशत भने निरोगी व्यक्ति छन् । ’

नेपालमा संक्रमितमध्ये झन्डै शून्य दशमलव ४ प्रतिशत मृत्युदर छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड १९ को मृत्यु दर विश्वमा तीन प्रतिशत छ । कतिपय देशमा तीन प्रतिशतमाथि पुगेको छ । तथ्याङ्क हेर्दा देशमा संक्रमणसँगै मृत्युदर पनि क्रमशः बढ्दो छ । पछिल्लो एक हप्ताको विवरण केलाउँदा बढ्दो ग्राफ देखिन्छ ।

काठमाडौंसहित पर्सा, रौतहट र  महोत्तरी जिल्लामा कोभिड–१९ महामारीका रूपमा देखिएकाे छ ।  त्यसपछि दोस्रोमा मोरङ, बाँकेलगायतका केही जिल्ला छन् । एक सातामा मात्र झन्डै चार हजार नयाँ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा मात्रै एक हप्तामा ६ सय ६६ नयाँ संक्रमित भेटिएका छन् । 

उपत्यकाका तीन जिल्लाका संक्रमितमध्ये झन्डै ९० प्रतिशत काठमाडौं जिल्लाका छन् । यी विवरणले क्रमशः कोभिड–१९ को जोखिम उच्च वृद्धि भइरहेको देखाउँछ । मानिसले स्वास्थ्य मापदण्ड नअपनाउँदा जोखिम बढेको  विज्ञहरू बताउँछन् । उपचारपछि निको भएको दर भने आशालाग्दो छ । 


कस्तो लाग्यो ?

यो पनि