खोटाङ । ज्यान मार्ने उद्योग घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात वर्ष कैद सजाय सुनाइएका फरार एक दोषीलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ । विसं २०५३ भदौ १२ गते केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको सिमानामा पर्ने बाहानेमा भएको ज्यान मार्ने उद्योगको घटनामा संलग्न दिप्सुङकै ५४ वर्षीय युवराज राईलाई इलाका प्रहरी कार्यालय बाक्सिलाले पक्राउ गरेको हो ।
राईलाई बुधबार साँझ दिप्सुङकै बिसुदु जङ्गलबाट प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए । अदालतबाट दोषी ठहरिएका राईलाई आज अदालतमा पेश गरिएकामा अदालतले तत्काल कैद भुक्तानका लागि कारागार पठाउन निर्देशन दिएपछि कारागार चलान गरिएको प्रनाउ चिमोरियाले जानकारी दिए ।