असोज ०५, २०८१, शनिबार
               

को हुन् कृष्णबहादुर बोहरा ?, जसका छन् दुई श्रीमती

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौंको गोंगबुस्थित नवज्योति मार्गमा गत आइतबार बिहान फेला परेको शव दाङका कृष्णबहादुर बोहराको रहेको पुष्टि भइसकेको छ ।

बोहरा घोराही उपमहानगरपालिका वडा नम्बर ११ बगाले टोलका बासिन्दा हुन् । उनको नागरिकतामा स्थायी ठेगाना रोल्पा लेखिएको छ । 

रोल्पाबाट उनी दाङ बसाइ सराइ गरेर आएका हुन् ।

शनिबार राति उनको हत्या गरेर शव टुक्र्याएर सुटकेशमा हालेर फालिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बोहराका दुई श्रीमती छन् । जेठी श्रीमती उनले घोराहीमै राखेका छन् ।

पछि उनले अर्की (कान्छी) श्रीमती विवाह गरेका थिए । उनकी कान्छी श्रीमती भारतको फरिदावादमा बस्दै आएकी छिन् ।

बोहरा सात आठ वर्ष अफगानिस्तानमा काम गरेर नेपाल फर्किएका हुन् । उनी अफगानिस्तानबाट फर्किएपछि काठमाडौं आए । त्यसपछि केही समय भारत गए । फेरि काठमाडौं फर्किएर उनले कपडाको व्यवसाय सुरु गरे । 

उनी कहिलेकाहीँ दाङस्थित घरमा गइरहन्थे । पछिल्लोपटक उनी फागुनमा दाङ आएर (केहीदिन बसेर) काठमाडौं फर्किएका थिए । 

घोराही–११ का वडाध्यक्ष कुलबहादुर लामिछानेका अनुसार, कृष्णबहादुर बोहरा साविक हापुर गाविस वडा नम्बर ६ निवासी जुद्धबहादुर बोहराका कान्छा छोरा हुन् । जुद्धबहादुरको मृत्यु भइसकेको छ भने उनकी पत्नी (कृष्णबहादुरकी आमा) भने दाङमै छिन् । 

उनका दाजुभाइ रोल्पाको रुन्चगढी गाउँपालिका-६ मा बसोवास गर्दै आएका छन् । उनकी दिदी कल्पना र भिनाजु भक्तबहादुर घर्ती पनि रोल्पामै छन् ।

बोहराका चार दाजुभाइमध्ये जेठा र साईला दाजुको मृत्यु भइसकेको छ भने माईला दाजु विदेशमा छन् । 

प्रहरीका अनुसार काठमाडौं बस्ने चितवनकी कल्पना मुडवरीसँग उनको फेसबुकमार्फत सम्पर्क भएको थियो । फेसबुकमा कल्पनाको आईडी कल्पना पौड्याल छ ।

उनले आफूलाई कल्पना शाहीका नाममा पनि चिनाउने गर्दथिन् । कल्पनाले गत शनिबार राति कृष्णको हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छिन् ।

कल्पनाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको समेत बताएकी छन् । 

अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि