काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको पहिचान भएको छ ।
सुटकेसमा भेटिएको सो शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । र, उनी काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको पनि खुलेको प्रहरीले खुलासा गरेको छ ।
यसबारे अपराध महाशाखा र काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेसबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सो शव पहिचान गर्न गाह्रो भएपछि अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो ।
आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेसमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो ।