बैशाख १७, २०८१, सोमबार
               

आधारभूत विद्यालयमा कार्यरत शिक्षक उत्रिए आन्दोलनमा

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । सिरहाको लहान नगरक्षेत्रका विभिन्न अधारभूत विद्यालयमा कार्यरत शिक्षक आन्दोलनमा उत्रेका छन् ।

लहान नगरपालिका नगरशिक्षा समितिले शिक्षा ऐन र नियमावली विपरीत आफूहरुलाई सरुवा गरेको भन्दै शिक्षकहरुले सङ्घर्ष समिति गठन गरी आन्दोलन सुरु गरेका हुन् । 

स्थानीय सरकारलाई शिक्षकको दरबन्दी मिलान गर्ने अधिकार भए पनि सरुवाको अधिकार केन्द्र सरकारलाई मात्र भएको अवस्थामा नगरशिक्षा समितिले कार्यादेशभन्दा बाहिर गएर एकमुष्ट सरुवा गरेको भन्दै संयुक्त सङ्घर्ष समितिले तत्काल सरुवाको निर्णय रोक्नुपर्ने माग गरेका छन् । 

समितिले पत्रकार सम्मेलन गरी लहान नगरपालिकाले नगर शिक्षा समितिको जेठ २८ गतेको निर्णयका आधारमा साउन १४ गते आधारभूत तहका शिक्षकहरुको सरुवा गरेको भन्दै सो निर्णय रोक्नुपर्ने बताएका छन् ।

शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ नवौँ संशोधन कायम रहेको र सङ्घीय शिक्षा ऐन नबनिसकेको अवस्थामा संविधानले स्थानीय तहलाई दिएको २३ बुँदे अधिकारमा शिक्षक सरुवा, बढुवा उल्लेख नरहेकाले सामुदायिक विद्यालयका शिक्षकको सरुवा, बढुवा गर्ने अधिकार शिक्षा विकास तथा समन्वय एकाइलाई मात्र रहेको संयुक्त सङ्घर्ष समितिका संयोजक अरविन्दकुमार दासले जानकारी दिए । 

शिक्षण अवधि ११ महिनामात्र रहेका महिला शिक्षकलाई अपायक सरुवा र अवकाश प्राप्त शिक्षकको समेत हचुवाको भरमा प्रतिशोधपूर्ण तवरले सरुवा गरिएको भन्दै उनले उक्त सरुवाको निर्णय मान्य नहुने बताए । 

यसरी एकै पटक सबै शिक्षकको सरुवा नगरेकाले यस्ता सरुवाले शिक्षकको मानसिकता खलबलिएको, गुणस्तरको नाममा सामुदायिक विद्यालयको शैक्षिक वातावरण अझ ध्वस्त बनाउने प्रयास भएको आरोप लगाइएको छ । 

शिक्षा समितिले गरेको सरुवा सिफारिस न्यायोचित नभएकाले निर्णय खारेज नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत सङ्घर्ष समितिले दिएका छन् ।

यता लहान नगरपालिकाको शिक्षा संयोजक राजकुमार साहले सरुवाको निर्णय सबैको सल्लाह र सुझावकै आधारमा भएको दाबी गर्दै नगरपालिकाले ऐन बनाएरै सरुवाको निर्णय लिएको बताए । 


कस्तो लाग्यो ?

यो पनि