जेठ ०५, २०८१, शनिबार
               

तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न निर्देशन

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

सिरहा । जिल्ला विपत् व्यवस्थापन समिति सिरहाले कोरोना भाइरस रोकथाम र उपचारमा जिल्लास्थित स्वास्थ्य कार्यालय, स्थानीय तह र सार्वजनिक निकायले गरेको खर्च तीन दिनभित्र सार्वजनिक गर्न आइतबार निर्देशन दिएको छ । स्थानीय तहले अपारदर्शी ढंगले रकम खर्च गरेको जनगुनासो बढिरहेका बेला समितिले यस्तो निर्देशन दिएको हो ।

जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्न विवरण सार्वजनिक गर्न निर्देशन दिएको समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रदीपराज कँडेलले जानकारी दिए । उनले भने, ‘तीन दिनभित्र खर्च विवरण सार्वजनिक नगर्नेहरूको नाम जिल्ला प्रशासनको वेबसाइटमार्फत सार्वजनिक गर्नेछौँ ।’

जिल्ला विपत् व्यवस्थापन समितिले आइतबार नै प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाएका, घाइते भएका र आगलागी पीडितहरूलाई बाँडेको राहत रकमसहितको विवरण सार्वजनिक गरेको छ ।

सिडियो कँडेलको अध्यक्षतामा सम्पन्न विपत् व्यवस्थापन र जिल्ला संकट समन्वय तथा व्यवस्थापन समितिको संयुक्त बैठकले आव ०७५–७६ को असारदेखि ०७६–७७ को असार महिनासम्म ५७ जनालाई चार हजार ६ सयदेखि एक लाख रुपैयाँसम्म राहत दिइएको विवरण अनुमोदन गरी सार्वजनिक गरेको हो ।

समितिले सार्वजनिक गरेको खर्च विवरणअनुसार बाढीको समयमा प्रयोग गरिएका भाडाका सवारीसाधनमा १ लाख ४० हजार, भूकम्प सुरक्षामा १५ हजार, कम्बल खरिदमा ४ लाख ९८ हजार खर्च भएको छ ।

यस्तै समितिले हुरीबतासबाट घर भत्किएका तीन परिवार, आगलागीका ४७, चट्याङमा परेर घाइते भएका एक र मृत्यु भएका दुई परिवार, जंगली हात्तीको आक्रमणका दुई र बाढीमा मृत्यु भएका परिवारलाई राहत दिएको जनाएको छ ।

पीडितको बसोवास रहेको स्थानीय तह, रेडक्रसको सिफारिसमा विपत् व्यवस्थापन समितिले क्षतिको आकारअनुसार राहत बाँडेको सिडियो कँडेलले जानकारी दिए ।

 


कस्तो लाग्यो ?

यो पनि