बैशाख २३, २०८१, आइतबार
               

क्रिकेट खेलाडी सन्दीप १४ दिन क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिन क्वारेन्टाइनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टाइनमा राखिएको हो ।

सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ । ‘प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि  क्वारेन्टाइनमा बस्नुपरेको हो,’ उनका व्यवस्थापक रमन शिवाकोटीले भने । यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षणसमेत गराउनुपर्ने उनले बताए । ‘पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइनेछ,’ उनले भने ।
सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो गएका पथए । सरकार र अन्य विभिन्न निकायको सहयोगमा उनी टोबागो जान सफल भएका हुन् ।
 
सन्दीप सीपीएलका लागि यसपटक जमैका तल्लावाहजबाट अनुबन्धित भएका हुन् । उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो ।

उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सीपीएल खेल्नुभएको थियो । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो ।

दोस्रो पटक सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलेका थिए । उनले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त  गरेका थिए । 

सन्दीले सो प्रतियोगितामा ६ खेलमा आठ विकेट लिएका थिए । यसपटक सन्दीपको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन् । उनी आबद्ध जमैका तलावाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ ।

सिपिएलका लागि विश्वका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सीपीएलमा जमैकासँगै बार्बाडोस ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सीपीएलमा कुल ३३ खेल हुनेछन् भने कारोना भाइरसका कारण ती सबै खेलबिना दर्शक खेलाइने आयोजकले जनाएको छ । सीपीएल आगामी भदौ २५ गतेसम्म चल्नेछ ।

सन्दीप टोबागोबाट सोझै इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न असोज दोस्रो साता युनाईटेड अरब इमिरेटस् जाने छन् । यसपटक १३औँ संस्करणको आईपीएल आगामी सेप्टेम्बरदेखि युएईमा शुरु हुँदैछ । कोरोना भाइरसका कारण यसपटक आईपीएल भारतमा आयोजना गर्न नकिएको हो । आईपीएल युएईमा आयोजना गर्न भारत सरकारले आयोजकलाई आइतबार अनुमति दिएपछि सो प्रतियोगिता हुने पक्का भएको हो ।

सन्दीपले आईपीएल दिल्ली क्यापिटल्सबाट खेल्ने छन् । उनले आइपीएल खेलेको तेस्रो पटक हो ।


कस्तो लाग्यो ?

यो पनि