जेठ ०५, २०८१, शनिबार
               

भदौ १ देखि सुरु हवाई उडान, यात्रुले चार घण्टा पहिले विमानस्थल जानुपर्ने

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले चैत ९ गतेदेखि बन्द  गरेको आन्तरिक र बाह्य उडान भदाै १ देखि खुल्ने भएको छ । अहिले उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । 

भदौ १ गतेदेखि भने सरकारले सुरक्षाका मापदण्ड अपनाएर आन्तरिक र बाह्य दुवै उडान खुलाउने तयारी छ । कोरोनाको बढ्दो सङ्क्रमण र जोखिम उच्च रहे पनि उच्च सतर्कता अपनाएर उडान भराउने सरकारको तयारी छ  । कोरोना सकिएपछि मात्रै जहाज उडाउँदा यो व्यवसाय नै टाट पल्टिने अवस्थामा पुगेकाले अब  व्यवसाय पनि बिस्तारै उठाउने उडान सुरु गर्ने तयारी भएको व्यवसायीको भनाइ छ ।

अहिले आन्तरिकतर्फका यात्रु दुई घण्टा पहिले र अन्तर्राष्ट्रिय उडानतर्फका यात्रु चार घण्टा पहिले नै विमानस्थल पुग्नुपर्नेछ । शङ्का लागेका व्यक्तिलाई तत्कालै विमानस्थलकै आइसोलेसन कक्षमा लगिनेछ । विमानस्थलमा हेल्थ डेस्क र एम्बुलेन्स तयारी अवस्थामा रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।

नियमित उडानको लागि विमानस्थल तयार रहेको विमानस्थलका महाप्रबन्धक  केसीले जानकारी दिए । उनले भने ‘कोरानाको रोकथामको  लागि गरिने क्रियाकलापका कारण विमानस्थल आधा क्षमतामा मात्रै चल्नेछ , कर्मचारी तथा यात्रुहरू सबेले सबै सुरक्षाका उपायहरू पालना गर्नुपर्नेछ ।’

हरेक यात्रुले सबै विवरणसहितको फारम भर्नुपर्नेछ ।  मास्क लगाएरमा मात्र विमानस्थलको मूल गेटबाट प्रवेश गर्न पाइने छ । एक सय चार डिग्री फरेनहाइट ज्वरो भएका र रुघाखोकी लागेका व्यक्तिलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको छ । ७० वर्ष माथिका व्यक्ति, गम्भीर रोग लागेका र गर्भवतीलाई सकभर जहाज नचढ्न आग्रह गरिएको छ ।

विमानस्थल परिसरमा एक मिटरको दूरी अनिवार्य कायम गर्नुपर्नेछ । विमानस्थलभित्रका एयरलाइन्सका काउन्टरमा सिसा लगाइएको छ । यात्रु उभिनको लागि गोलो रेखा कोरिएको छ । आगमन र प्रस्थान कक्षको बस्ने ठाउँमा एउटा कुर्सी खाली राखेर मात्रै बस्नुपर्नेछ । विमानस्थल र हवाई कम्पनीका कर्मचारीले मास्कको साथमा पन्जा, भाइजर र पिपिई अनिवार्य रुपमा लगाउने छन् । ठाउँ–ठाउँमा स्यानिटाइजर राखिएको छ । 
 

यो पनि