जेठ ०५, २०८१, शनिबार
               

थप दुई लाखले पाए उच्च तथा मध्यमस्तरको खानेपानी

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा झण्डै दुई लाख जनसङ्ख्यामा उच्च तथा मध्यमस्तरको खानेपानी सेवा उपलब्ध भएको छ । खानेपानी मन्त्रालयका अनुसार सो आवमा कूल १४ वटा आयोजना सम्पन्न भई एक लाख ९० हजार २९२ जनसङ्ख्याले मध्यम तथा उच्चस्तरको खानेपानी सेवा प्राप्त गरेका हुन् ।  यस्तै कूल  २४२ आयोजना सम्पन्न भई एक लाख ९४ हजार ४२३ जनसङ्ख्या आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको मन्त्रालयले जनाएको छ । 

खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायले आव २०७६/७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा आज भएको समीक्षा बैठकमा मन्त्रालय मातहत विभिन्न निकायले गरेका भौतिक र वित्तीय प्रगतिका बारे जानकारी गराइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधि सहभागी थिए । 

समीक्षा बैठकमा मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत रहेको सहसचिव अरुण सिंखडाले जानकारी दिनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागको समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको जानकारी दिइएको थियो । खानेपानी विभागअन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनःस्थापना कार्यक्रमको भौतिक प्रगति ८७ प्रतिशत, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९ प्रतिशत, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ प्रतिशत र सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको महानिर्देशक सुनिलकुमार दासको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि