बारा – साउन १८ गते आइतबारदेखि लागु हुने गरी बारा जिल्लाका मुख्य नगर क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको महामारीलाई ख्याल गर्दै कलैया, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, सिम्रौनगढ नगरपालिका, बरियारपुर र वीरगञ्ज–पथलैयासहितका क्षेत्रमा सवारी साधन सञ्चालन गर्न र हिँडडुल गर्न नपाउने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
निषेधाज्ञा अटेर गरेर घरबाहिर निस्कनेलाई सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ । कोरोना महामारीको जोखिम बढ्दै गएको र सर्वसाधारणले सावधानी नअपनाएका कारण निषेधाज्ञा जारी गर्नु परेको प्रशासनले जनाएको छ ।