असोज ०७, २०८१, सोमबार
               

सुन प्रकरणको छानविन गर्न समिति गठन

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । कमलादीमा साढे १४ किलो चाँदी र आधा केजी सुन रहेको झोला फालेर भाग्ने गाडीलाई समात्न नसकेको विषयमा अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन गरेको छ ।

मंगलबार राजधानीको कमलादीबाट प्रहरीले आधा किलो सुनसहित चाँदी र पेस्तोल बरामद गरेको थियो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । 

छानबिन समितिमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी किरण बज्राचार्य, एसपी सामेन्द्र सिंह राठौर, अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र परिसरका राजकुमार केसी रहेका छन् । 

प्रहरी चेकजाँचका क्रममा सामान बरामद भएपनि गाडी कसरी फुत्किन सफल भयो भन्नेबारे छानबिन गरेर यथार्थ विवरण बाहिर ल्याउन समितिलाई कार्यादेश दिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । 

मंगलबार बिहान प्रहरीले कमलादीबाट १५ किलो सुन बरामद भएको भन्दै सूचना चुहाएपनि चेकजाँचका क्रममा पछि आधा किलोमात्रै सुन र बाँकी चाँदी भएको पुष्टि भएको थियो । 

प्रहरीले गाडी चेकजाँच गर्दैगर्दा सामान बरामद भएको तर बा ६ च ५५११ नम्बरको स्कार्पियो भागेको बताएपछि प्रश्न उत्पन्न भएको हो । 

डीएसपीको कमाण्डका आकस्मिक चेकप्वाइन्ट राखेको र कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीव्र गतिमा आएको स्कार्पियो रोक्न खोज्दा गाडीबाट ‘सुन जस्तो देखिने धातु’ फालेर हिँडेको पत्रकार सम्मेलनमा परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका थिए । 

सुनको झोला र २ थान पेस्तोल फालेर भाग्ने गाडी रोक्न प्रहरीले किन सकेन भनेर प्रश्न गर्ने ठाउँ रहेको छ । 

अब छानबिनबाट निस्कने निष्कर्षको आधारमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि