वीरगञ्ज । पर्सा र बारामा थप १५ जनामा कोरोना भाइरस (कोभिढ १९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना चिकित्सक समेत छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
अधिकांश संक्रमित वीरगञ्जका छन् । केहीमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएको बताइएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतका अनुसार वीरगञ्ज–११ श्रीपुरका २६ वर्षीय चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । आफ्नो बुवाको कन्ट्याक्ट ट्रेसिङका क्रममा उनमा कोरोना परीक्षण गरिएको थियो ।
त्यस्तै श्रीपुरकै ४५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका दुवै जना शंकास्पद संक्रमितको रुपमा वीरगञ्जस्थित कोरोना अस्पतालमै थिए ।
वीरगञ्ज–४ विर्ता बस्ने अर्का ४० वर्षीय चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालमा कार्यरत उनलाई पाँच दिनदेखि ज्वरो आइरहेको थियो ।
नारायणी अस्पतालमै कार्यरत ३१ वर्षीय अर्का कर्मचारीलाई पनि कोरोना देखिएको बताइएको छ ।