काठमाडौं । नक्कली नोट कारोबारको अभियोगमा काठमाडौंबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मण्डिखाटार बस्ने २२ वर्षीय प्रशान्त सिंह ठकुरी रहेका छन् । प्रशान्त सेन्ट जेभियर्स कलेजमा बीबीएस अध्ययनरत विद्यार्थी समेत हुन् । उनि हाइप्रोफाइल परिवारका हुन् ।
अनलाइनमा बेच्न राखिएको स्मार्ट फोन किनेपछि उनको नक्कली नोट कारोबारको पर्दाफास भएको हो ।
एकजनाले अनलाइनमा ‘भिभो–३’ मोवाइल फोटोसहित बिक्रीमा रहेको सूचना पोष्ट गरे । प्रशान्तले उक्त व्यक्तिसँग सम्पर्क गरेर मोबाइल किन्ने बताए । २० हजार पाँच सयमा मोबाइल किन्ने बेच्ने सहमति भयो ।
बुधवार मोबाइल किन्न प्रशान्त कार चढेर स्वयम्भू हलचोक पुगे । मोबाइल लिए अनि आफैंले पैसा गनेर खाममा हालेर बिक्रेतालाई (पैसा) दिए ।
मोवाइल बिक्रेताले खामबाट पैसा झिकेर हेर्दा नोटको गुणस्तर बारे शंका लाग्यो । उनले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा गएर नोट देखाए । नोट नक्कली रहेको खुल्यो ।
त्यसपछि मोबाइल किनबेच गरेको केही समयमै प्रशान्तलाई प्रहरीले पक्राउ गर्यो ।
१९ हजार नक्कली नोट सहित प्रशान्त सिंह ठकुरीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । उनले भने, 'घटनाबारे अनुसन्धान भइरहेको छ ।'
नेपालगञ्ज उप–महानगरपालिका–३ घरबारीटोल स्थायी घर भएका प्रशान्तले घरमै कलर प्रिन्टरबाट नक्कली नोट छापेको बताएका छन् ।
प्रशान्तले दिएको २० हजार ५ सय मध्ये १ हजार दरका १९ वटा नोट नक्कली रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।