काठमाडौं । सरकारविरुद्ध प्रदर्शन गरेको अभियोगमा पक्राउ परेका ६ जना विदेशी नागरिक थुनामुक्त भएका छन् ।
थुनामुक्त हुनेहरुमा नर्वेजियन, अस्ट्रेलियन, अमेरिकी नागरिक एक-एक जना र तीन जना चिनियाँ नागरिक छन् ।
अन्तर्राष्ट्रिय उडान सुरु हुनासाथ उनीहरुलाई देशबाट निष्कासन गरिने अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए ।
विभागका महानिर्देशक केसीका अनुसार, पक्राउ परेका मध्ये नर्वेजियन नागरिक मरिता लिभरोदले नेपाली नागरिकसँग विवाह गरेर बैवाहिक भिसा लिएकाले उनलाई जरिवाना मात्र तिराइएको छ । उनी पाँच हजार रुपैयाँ जरिवाना तिरेर छुटेकी छन् ।
केसीका अनुसार, तीन जना चिनियाँ र अमेरिकी नागरिकलाई १० हजार रुपैयाँ जरीवाना तिराइएको छ । अस्ट्रेलियन नागरिक कलानी गाकोनलाई भने २० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
साथै विभागले पाँचै जनालाई दुई वर्ष नेपाल प्रवेश गर्न निषेध गर्ने निर्णय गरेको छ ।
उनीहरुको पासपोर्ट विभागले रोखेको छ । अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्रविभागले उनीहरुलाई निष्कासन गर्ने जनाएको छ ।
गत जेठ ३१ गते सरकारविरुद्ध काठमाडौंमा भएको प्रदर्शनमा सहभागी भएको आरोपमा ६ जना विदेशी नागरिकलाई पक्राउ गरिएको थियो ।
नेपालमा विदेशी नागरिक राजनीतिक गतिविधिमा संलग्न हुन नेपालको कानुनले बन्देज गरेको छ ।