असोज ०६, २०८१, आइतबार
               

पहिराेमा पुरिएका दश जनाको शव भेटियो

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

तनहुँ । तनहुँका विभिन्न ठाउँमा पहिरोेले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता रहेका दुई जना भने अझै फेला पर्न नसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । रात परेकाले बेपत्ता भएकाहरूको खोजी कार्यलाई आजलाई स्थगित गरिएको र मङ्गलबारबाट पुनः खोजी कार्य तीव्र पारिने पौडेलले बताए ।

“दिनभरको प्रयासबाट दश जनाको शव निकाल्न सफल भएका छौँ, भोलिबाट पुनः खोजीकार्य तीव्र पारिनेछ, बेपत्ता भएकाको खोजीका लागि ठूला उपकरणसमेत प्रयोग गरिएको छ”, पौडेलले भने । पहिरोेले पुरिएर बेपत्ता भएका ऋषिङ–८ पल्ट्याङ भैसीकिलेका एकै परिवारका पाँच, व्यास–९ माझफाँटमा एकै परिवारका तीनसहित चार र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

पहिरोेले पुरिएर ऋषिङ–८ पल्ट्याङ भैसीकिलेका ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया थापा, निजकै पाँच वर्षीया छोरी अमिषा थापा, २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापाको शव भेटिएको छ । उनीहरू अनबहादुर थापाका छोराबुहारी हुन् । पहिरोले पुरिएर घाइते अनबहादुरका श्रीमती ज्योतिमायाको भने उद्धार पछि पोखरामा उपचार भइरहेको छ । 

यस्तै व्यास–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको शव फेला परेको छ । पहिरोेले पुरिएर गम्भीर घाइते म्याग्दे–६ बेलौतीडाँडाका १७ वर्षीया लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

पहिरोले पुरिएर व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा र व्यास–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेल बेपत्ता छन् । पहिरोले पुरिएर घाइते व्यास–९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ भने सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवरको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि