जेठ ०९, २०८१, बुधबार
               

मनसुनका कारण ८५ को मृत्यु, ४६ बेपत्ता

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडाैं । यस वर्षको मनसुनका कारण आएको बाढीपहिरोमा परी ८५ जनाले ज्यान गुमाएका छन् भने ४६ जनाको अझै बेपत्ता छन् । 

त्यसैगरी,  १३४ घर पूर्णक्षति पुगेको गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए । 

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा न्यौपानेले यस्तो बताएका हुन् । 

विसं २०७२ को भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, गोरखा र रसुवालगायत जिल्ला नै बाढी पहिरोबाट अतिजोखिम क्षेत्रका रुपमा  छन् भने हालसम्मको अवस्थालाई विश्लेषण गर्दा  प्रदेश नं २ का जिल्लामध्ये रौतहट बढी डुबानबाट प्रभावित भएको न्यौपानेको भनाइ छ ।  

बाढी पहिरोबाट १४ जिल्लाका ११ हजार घर उच्चजोखिमा रहेकामा ७०७ घर भने तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको उनले जानकारी दिए । ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बाढी र पहिरोबाट मध्यपहाडी र डुबानबाट तराईका जिल्ला अतिजोखिममा  छन्,’ उनले भने,  ‘विगत १० वर्षको मनसुनको अध्ययन विश्लेषण गर्दा मनसुन सुरु भएको ३० दिनको पहिलो अवधि बाढी पहिरोका हिसाबले डरलाग्दो हुने गरेको छ ।' 

बाढीपहिरोका जोखिमलाई दृष्टिगत गरी विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाएर काम गरिरहेको जनाउँदै न्यौपानेले विभिन्न स्थानमा राहत र उद्धार सामान व्यवस्थापन गोदाम र मानवीय सहायता केन्द्र स्थापना गरेको जानकारी दिए । 

बाढीपहिरोबाट हालसम्म पर्वत, पाल्पा, बझाङ, गुल्मी, सिन्धुपाल्चोक, रुकुम, कास्की, जाजरकोट, दोलखा, सर्लाही, तनहुँ  र सखुवासभा जिल्लामा जनधनको क्षति भएको छ ।

भूकम्पले धाँजा बनाएको पहाड, लगातार धेरै वर्षात् र अवैज्ञानिक तवरमा हुने विकास निर्माणले बाढी पहिरोका घटनालाई बढाउन सहयोग पुर्‍याएको मन्त्रालयको भनाइ रहेको छ । बाढी पहिरोबाट धनजन क्षति भएका परिवारलाई भूकम्प पीडितलाई दिइएको राहत र सहयोगअनुरुपकै विधि र प्रक्रियाका आधारमा राहत उपलब्ध गराउने सरकारले तयारी गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले एक अर्ब ८० करोड रकम मौज्दात रहेको छ ।  

सो अवसरमा सांसदहरुले राहत र उद्धारका योजना राम्रा भए पनि कार्यान्वयन फितलो रहेकाले तीन तहकै सरकार र स्थानीय नागरिकको समन्वयमा प्रभावकारी राहत र उद्धारका कार्यक्रम गर्न सरकारलाई सुझाव दिए । 

यो पनि