काठमाडौं । म्याग्दीको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर हराइरहेका १३ जनाको शव भेटिएको छ । हिजो शुक्रबार तीन जनाको र आज १० जनाको शव भेटिएको हो ।
म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरका अनुसार धवलागिरि गाउँपालिकाको मराङमा १० जनाको शव भेटिएको छ। यी मध्ये एक वालक रहेको उनको भनाइ छ। अझै २२ जना हराइरहेका छन् ।
त्यस्तै बेपत्ता हुनेहरुमा मराङ र बिममा दर्जनौँ मानिस पहिरोमा पुरिएको जानकारी आएको उनले बताए। त्यहाँ उद्धारको लागि हेलिकोप्टर लगेपनि मौसम प्रतिकुल भएको कारण उद्धार हुन सकेको थिएन ।
मराङ र बीममा हिजो शुक्रबार नेपाली सेनाको हेलिकोप्टर जानको लागि तीन पटक प्रयास गरेपनि सकेको थिएन । आज पनि सेनाको हेलिकोप्टर लैजाने तयारी गरिरहेको म्याग्दी प्रहरीले जनाएको छ ।
मराङमा अहिले एक सुत्केरी र ७ जना मानिस पहिरोको जोखिममा छन उनीहरु कतै जान सक्ने अवस्थामा नरहेकोले तत्कालै उद्धार गर्नुपर्ने कुँवरले बताए। हिजो देखि ८ जना नै पहिरोको जोखिममा अड्किएका छन् ।
पहिरोको कारण सदरमुकामबाट गएको नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय युवाहरुको टोली मराङ अझै पुग्न सकेको छैन।