जेठ ०४, २०८१, शुक्रबार
               

माइतीघरमा राप्रपा समर्थित श्रमिकहरुको विरोध प्रदर्शन

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । विभिन्न १० बुँदे मागसहित टुकोनले विरोध प्रदर्शन गरेको हो । 

क्वारेन्टाइननलाई व्यवस्थित गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, गुणस्तरीय स्वास्थ्य सामग्री उपलब्ध गराइनुपर्ने, कोरोनाको नाममा भ्रष्टाचार बन्द गर्नुपर्ने लगायतका मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

किसानलाई रासायनिक मल, विउ उपलब्ध गराउन समेत उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सबै श्रमिकहरुको रोजगारी सुनिश्चित गर्न, लकडाउन अवधिको पारिश्रमिक कटौति नगर्न, श्रमिकहरुलाई कार्यास्थलमा सुरक्षाको प्रवन्ध गर्न तथा प्रवासी श्रमिकहरुको व्यवस्थापन गर्न टुकोनले सरकारसमक्ष माग गरेको छ ।

शुक्रबार दिउँसो बबरमहलबाट सुरु भएको र्‍याली माइतीघर पुगेर धर्नामा परिणत भएको थियो । 

कार्यक्रममा बोल्दै ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा राज्यले श्रमिक वर्गको समस्यालाई नजरअन्दाज गरेको आरोप लगाए । लकडाउनको अवस्थामा मर्कामा परेका सम्पूर्ण क्षेत्रका श्रमिक वर्गलाई उचित राहतको व्यवस्था गर्न उनले माग गरे । 

श्रमिकहरुको परिश्रमले आर्जेको आर्थिक रेमिट्यान्समा निर्भर रहेको मुलुकले नेपाली श्रमिकलाई नै अप्ठ्यारो परेको अवस्थामा उचित व्यवस्थापन नगर्ने हो भने भोलिका दिनमा जटिल परिस्थिति उत्पन्न हुने चेतावनी दिए । 

जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यको विषय र समस्यामा परेका श्रमिकको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गर्न टुकोन धर्नामा उत्रनुपरेको उनले बताए । 

टुकोनका केन्द्रीय पदाधिकारी तथा सदस्य लगायत पेशागत श्रमिकहरुको उपस्थिति रहेको थियो ।

यो पनि